Pokharapatra National Daily

गण्डकी प्रदेश स्तरीय विद्यालय चित्रकला प्रतियोगीता सम्पन्न

इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लबको संयुक्त आयोजनामा गण्डकी प्रदेशमा रहेका विद्यालयहरूलाई समेटेर आयोजना गरिएको “क्यानभाषमा बाल मनोबिज्ञान” गण्डकी प्रदेश स्तरीय विद्यालय चित्रकला प्रतियोगीता २०७७ सम्पन्न भएको छ ।
दुई चरणमा सम्पन्न गरिएको प्रतियोगिताको प्रथम चरणमा सहभागिता जनाएका १९७ चित्र मध्येबाट उत्कृष्ट १२ प्रतियोगी छनौट गरिएको थियो । दोस्रो चरणमा प्रथम चरणबाट छनौटमा परेका उत्कष्ृट १२प्रतियोगीले कार्यक्रम स्थलमा नै चित्र बनाएका थिए । उनीहरूले चित्र कोरिरहंदा नै निर्णायकहरूले मूल्याङ्कन गरि प्रथम, द्वितीय, तृतीय र सान्त्वना छनौट गरिएको थियो । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरुमा क्रमशःकुमुदिनि होम्स मा.वि.का युकेस सुनार, हिलप्वाईन्ट मा.वि.का सपना नेपाली, कास्की मोर्डनाईज्ड एकेडेमीका जेसिका तिलिजा पून र गण्डकी बोर्डिङ् स्कुलका स्वरुप माकाजु रहेका छन् । उनीहरुले क्रमशः ९,०००, ६,०००, ३,००० र १,००० नगद पुरस्कार सहित मायाँको चिनो र प्रमाणपत्र प्राप्त गरेका छन् । अन्य सम्पूर्ण सहभागीहरुले मायाँको चिनो र प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ तथा बिम्ब कवि रमेश श्रेष्ठले, अहिले बिद्यालयहरुले कला क्षेत्रलाई यसरी प्राथमिकतामा राखेर अध्ययन, अध्यापन गराउनु निकै प्रसंसनिय काम भएको बताए । त्यस्तै उनले कला र शिक्षा फरक भएको र शिक्षाले भन्दा पनि बढी जिवनको ज्ञान कलाले दिनसक्ने बताए । निर्णयक संयोजनमा रहेका बरिष्ठ चित्रकार कृष्ण मर्सानीले कलालाई निरन्तर साधना गर्न सक्ने हो भने व्यक्तित्व विकास र जिवन भोगाईमा निकै असरदार काम गर्ने कुरा बताए । निर्णायकको भूमीकामा बरिष्ठ चित्रकार कृष्ण मर्सानी र मनोज तामाङ रहेका थिए । लायन्स क्लबका अध्यक्ष सुनिल कुमार ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सन्चालन “प्राञ्जल”ले गरेका थिए । कार्यक्रम बिकास पौडेलको संयोजनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्