Pokharapatra National Daily

एकद्धार प्रणालीबाट कर संकलन गर्न अध्यक्ष श्रेष्ठको माग

नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यवसायीमैत्री ढंगबाट एवं एकद्धार प्रणालीबाट कर संकलन गर्नुपर्ने बताएका छन् ।
पोखरा चेम्बर अफ कमर्स कास्कीले दोश्रो वार्षिक साधारण सभा तथा योजना तर्जुमा गोष्ठी शनिबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले देश संघीयतामा राजनीतिक तथा प्रशासनिक अधिकार विकेन्द्रीत भएको अबस्थामा कर प्रणाली पनि एकद्दार प्रणालीबाट कर संकलन गर्नुपर्ने बताएका हुन् ।
उनले भने “देशको मुल निती भनेकै राजनीति हो, राजनीतिक स्थायित्व र लगानीको लागि उचित वातावरण नभएसम्म उद्योग व्यवसायको प्रवद्र्धन हुन सक्दैन ।” कोरोनाबाट प्रभावित भएका व्यवसायहरु अझै भयमुक्त भएर व्यवसाय गर्ने वातावरण नभएको उनको भनाईं थियो । उनले सरकारले व्यवसायीको मनोवल बढाउने काम गर्नु पर्ने धारणा राखे । सरकारले उपभोक्ताको क्रयशक्ति बढाउनेमात्र नभई रोजगारी तथा राजश्व बढाउनको लागि केन्द्रीत भएर काम गर्नु पर्ने उनले सुझाव दिए । उनले जिल्ला तथा नगर स्तरका चेम्बरहरुले एक आपसमा आन्तरिक पर्यटन आदान प्रदान गरेर पर्यटन प्रवद्र्धनका काम गर्नु पर्ने धारणा राखे ।
गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेलले सयुक्त राष्ट्र संघले नेपाललाई अति कम विकसित राष्ट्रबाट विकसित राष्ट्रमा रुपान्तरण गरेको जानकारी दिए । नेपालका उद्योगी व्यवसायीहरु अब गरिब देशको नभएको चर्चा गर्दै उनले विदेशबाट आयातित तथा अरुका सामान बेच्न भन्दा आफै उत्पादनमा जोड दिन अनुरोध गरे ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतम, गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष यदुनाथ अधिकारी, कास्कीका अध्यक्ष किसान सुनार, वरिष्ठ उपाध्यक्ष गिता गौतम तिवारी, महासचिव उमराज बास्तोला, अर्जुन परियार लगायतले बोलेका थिए । महासचिव उमराज बास्तोलाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष कमलबहादुर बस्नेतले पेश गरेको आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन र बस्तुगत तर्फ यमनाथ पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव सभाले सुधार सहित पारित गरेको छ । सभामा विभिन्न विधाका अवार्ड वितरण गर्नुका साथै आजीवन तथा संस्थापक सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरियो ।

प्रतिकृया दिनुहोस्