Pokharapatra National Daily

कैवाल्य र लेकसिटी कलेजका विद्यार्थीको सहयोग धादिङमा

गैर–सरकारी संस्था कैवाल्य फाउन्डेशन र पोखरामा सामाजिक कार्य अध्ययनरत विद्यार्थीको समुहले आइतबार धादिङको बेनिघाट–रोराङ गाउँपालिका स्थित गोइराङ आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हालै हस्तान्तरण गरेको छ ।
सहयोग हस्तान्तरण गर्नेमा कैवाल्यका पोखरा प्रतिनिधि उम्मीद शाक्य, फोटोग्राफर सुवाश कार्की र लेकसिटी कलेज एण्ड रिसर्च सेण्टर पोखरा–४, गैह्रापाटनमा स्नातक तह सामाजिक कार्य प्रथम वर्षमा अध्ययनरत बसन्त पहारी र सुजता ढकाल सहभागी थिए । कैवाल्य फाउन्डेशनको उद्देश्य शैक्षिक कार्यक्रम मार्फत सीप विकासमा बालवालिका, युवा र महिलाहरूलाई प्रशिक्षण र सहयोग गर्नु हो ।
कार्यक्रममा ५५ दर्जन कापी, ४४ प्याकेट कलम, २० प्याकेट पेन्सिल, ११ प्याकेट इरेजर, ११ प्याकेट कटर, २ थान भलिबल, ५ थान स्किपिङ र २ थान चेस विद्यालयलाई हस्तान्तरण गरिएको थियो । चेपाङ समुदायको बाहुल्यता रहेको गोइराङमा मगर र गुरुङ जातिको पनि उल्लेखनीय बसोबास छ । आर्थिक अभाव र घरेलु समस्याका कारण बिच्चैमा पढाई छोड्नुपर्ने बाध्यता रहेको समुदायमा पोखराबाट गएको समुहले प्रदान गरेको सामाग्रीले केही हदसम्म भएपनि विद्यार्थीहरुमा हौसला बढ्ने विद्यालयका सह–प्रध्यानाध्यापक नाराएण कंडेलले भने । उनले भने, “विशेष गरि चेपाङ समुदायमा आर्थिक समस्याले गर्दा विद्यार्थीहरुमा पढाईलाई निरन्तरता नदिइकन ज्याला मजदुरीमा लाग्नु पर्ने बाध्यता रहेको छ। सरकारी स्तरबाट निशुल्क किताब र शिक्षाको व्यवस्था हुन्छ तर खानलाउन गाह्रो पर्ने समुदायमा ड्रेस र स्टेसनरी सामानको जोहो गर्न पनि यहाँको पारिवारिक अवस्था नाजुक छ । विभिन्न समयमा यसरी प्राप्त हुने सहयोगले नै विद्यार्थीहरुमा सकारात्मक उर्जा थप्ने गरेको छ ।”

प्रतिकृया दिनुहोस्