Pokharapatra National Daily

रुपामा नेलम्बोद्वारा एक हप्ते शिविर सुरु

नेलम्बो नेपालको आयोजनामा आइतवारदेखि रुपा गाउँपालिकामा एक हप्ते मुख स्वास्थ्य साथै दन्त शिविर सुरु भएको छ ।
शिविरको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष नवराज ओझाले ‘रुपाको पहिचान सबै क्षेत्रमा समृद्घिको अभियान’ नाराका साथ गाउँपालिका अगाडि बढिरहेको चर्चा गरे।उनले आयोजक संस्था नेलम्बो नेपाल प्रति आभार प्रकट गर्दै वडा र विद्यालय तहसम्म पनि कार्यक्रम लैजान सुझाव दिए । आफ्नो गाउँपालिकाबाट कार्यक्रम सुरुवात गरेकोमा उनले खुसी समेत जनाए । अध्यक्ष ओझाले मुखको सरसफाईमा ध्यान नदिए क्यान्सर समेत हुनसक्ने तर्फ सचेत गराए । गाउँपालिकाले स्वास्थ्यलाई महत्व दिई सबै वडामा चौकी स्थापना गरेको उनको भनाई छ । गाउँपालिका उपाध्यक्ष लालसुब्वा गुरुङले शिविरबाट विपन्न समूदायले फाइदा लिनुपर्ने तर्क गरिन् । दाँतको उपचार महङगो पनि छः त्यसैले यो कतिपय विपन्न समुदायको पहुँचमा पनि छैन उनले भनिन् । शरीरका अङक मध्ये मुख तथा दाँत पनि महत्वपूर्ण अङग भएको उनको ठम्याई छ ।
नेलम्बोमा अध्यक्ष एकदेव देवकोटाले सक्रिय सहभागिता हुने ठाँउमा संस्थाले सहयोग गर्दै आएको स्पष्ट पारे । कोभिड प्रभावको उच्च समयमा गाउँपालिकासँग सहकार्य गरेको स्मरण गर्दै अध्यक्ष देवकोटाले सो समयमा गाउँपालिकाको सक्रियता महत्वपूर्ण रहेको औँल्याए ।शिविरबाट धेरैभन्दा धेरै रुपावासीले सेवा लिनुपर्ने भन्दै अध्यक्ष देवकोटाले कार्यक्रमलाई आफ्नै ठानेर सहभागिता जनाइदिन आग्रह पनि गरे । कार्यक्रममा वडा नं. ६ का अध्यक्ष नारायण गुरुङ, नेलम्बोका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारी लगायतले पनि धारणा राखेका थिए । उनीहरुले स्वास्थ्य प्रति आम नागरिक संवेदनशील बन्नुपर्ने औँल्याए । शिविरको पहिलो दिन आइतवार कुल ४२ जनाले नाम दर्ता गराएकोमा २२ जनाको उपचार सम्पन्न भएको छ ।
शिविरमा डा. रोसन केसीको नेतृत्वमा डेन्टल हाइजेनिष्ट स्नेहा खड्का, क्लिनर विजय थापामगर सहित ६ जनाको टोली स्वास्थ्य परीक्षणका लागि खटिएको छ ।

प्रतिकृया दिनुहोस्