Pokharapatra National Daily

घर भित्रैबाट महिला हिंसा अन्त्य गर्नुपर्ने वक्ताको जोड

घर घरबाटै महिला हिंसाको अन्त्य हुनु पर्ने सोमबार पोखरामा आयोजित एक कार्यक्रमका वत्ताहरुले जोड दिएका छन् ।
अन्तराष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को सन्दर्भमा सोमबार पोखरामा आयोजित कानुनी सचेतना तथा अन्तरक्रिया कार्यक्रममा वोल्ने वत्ताहरुले अझै पनि घर घरमा महिला हिंसा हुने गरेको उल्लेख गर्दै महिला हिंसा अन्त्यको लागि घरबाटै अन्त्य हुनु पर्नेमा जोड दिएका हुन् ।
अखिल नेपाल महिला संघ कास्कीले आयोजना गरेको कार्यक्रममा वत्ताहरुले कानुन र ऐनमा महिला सहभागिता गराउने कुरा उल्लेख भए पनि अझै महिला सहभागिता निकै कम हुने गरेको दाबी गरेका हुन् । अनेमा संघका केन्द्रिय संयोजक अमृता थापा मगरले महिला दिवसले एकता, सघर्ष र विजयीको रुपमा मनाउनु पर्ने बताइन्। महिलाहरु अब बैचारिक, राजनीतिक, आर्थिक क्षेत्रमा सक्षम हुदै आत्मनिर्भर हुनु पर्ने उनको जोड थियो । आइतबार भएको सर्वोच्चको निर्णयले नेपाली राजनीतिलाई थप अन्यौलतामा लगेको संयोजक मगरको गुनासो थियो । नेकपा कास्कीका इन्चार्ज राजकाजी गुरुङ करणले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समाजबादमा लैजाने सपना माथि ठुलो कुठराघात गरेको आरोप लगाए । अझै पनि राजनीतिक पार्टीहरुमा महिला सहभागिता निकै भएकोले पार्टीमा महिला भर्ति गर्नु पर्ने उनले बताए । प्रधानमन्त्री ओलीको अहम र व्यत्तिवादी सोचले गर्दा नेकपामा समस्या भएको उल्लेख गर्दै करणले अब एमाले र माओबादी नजन्मने जनाए । नेकपाकी केन्द्रिय सदस्य सिता गिरी ओलीले संविधान र ऐन तथा कानुनमा महिला सहभागिता र महिला अधिकारका कुरा उल्लेख भए पनि व्यवहारमा लागु गर्न अझै नसकिएको बताइन् ।
नेकपाका नेता श्रीनाथ बरालले महिलाहरुको हकअधिकार थप सुरक्षित गर्न अझै कानुन र ऐन आवश्यक भएको बताए । अनेमा संघ कास्कीका अध्यक्ष कल्पना पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा नेतृ एवं गण्डकी प्रदेशका सांसद गायत्री गुरुङ, महिला नेतृ तेज कुमारी पौडेल, गजकुमारी गुरुङ, युवा नेता विनय थापा लगायतले वोलेको निर्मला न्यौपानेले बताइन् ।

प्रतिकृया दिनुहोस्