Pokharapatra National Daily

सामाजिक विकासमा कोभिड १९ को महामारीका कारण उत्पन्न आर्थिक शिथिलताको प्रभावः मन्त्री पुन

गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण उत्पन्न आर्थिक शिथिलताको प्रभाव सामाजिक विकासका हरेक क्षेत्रहरुमा परेको बताएकी छिन् ।
आफ्नै मन्त्रालयमा आयोजित “अपाङ्गता भएका विद्यालयहरुको शिक्षण सिकाइमा प्रविधिको प्रयोग, प्रबोधिकरण तथा सामाग्री हस्तान्तरण” कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्, “अघिल्लो साल जस्तै यसपटक बजेट पाउने सम्भावना अलि कम छ, किनभने अहिले कोरोनाको कारणले गर्दा आर्थिक शिथिलता आएको छ, गण्डकी प्रदेश सरकारले कति बजेट पाउँछ, र त्यसभित्र पनि सामाजिक विकास मन्त्रालयले कति बजेछ पाउँछ, त्यसलाई हेरेर मात्र बजेटिङ् गर्नुपर्छ ।” तर, पनि आफुहरु पहिलो हुने अभियान सुरु गरेको बताउदै उनले अपाङ्गताको क्षेत्रलाई सम्बोधन गर्ने गरि आवश्यक प्रबन्ध मिलाउने विश्वास दिलाईन् । अपाङ्गता भएका बालबालिकाहरुको शिक्षण अभ्यासमा सहयोग गर्नेगरि तयार गरिएका प्रविधिमा आधारित शिक्षण सामाग्रीहरुको प्रभावकारी उपयोगमा उनले जोड समेत दिईन् । त्यसका लागि शिक्षकहरुलाई थप तालिमको व्यवस्था गरिने उनले बताईन् ।
शैक्षिक तालिम केन्द्र दमौलीका प्रमुख नेपालहरी रानाभाटले शिक्षण सिकाइमा प्रविधिको प्रयोगलाई यथोचित उपयोगका लागि सम्बन्धित सरोकारवालाहरुको ध्यान जानुपर्ने बताए । शिक्षकहरुका लागि आवश्यक प्रविधिमैत्री तालिम र शिक्षण सामाग्रीहरुको प्रभावकारी उपयोगले मात्र अपेक्षित परिणाम प्राप्त गर्न सकिने उनले बताए । नेपाल नेत्रहिन संघका केन्द्रिय अध्यक्ष रमेश पोखरेलले अपाङ्गताका क्षेत्रमा काम गर्ने शिक्षकहरुलाई सरकारी तवरबाट आवश्यक तालिम र सुविधायुक्त आकर्षणको व्यवस्था गरिनु पर्ने बताए । अपाङ्गताको क्षेत्रमा आकर्षण भन्दा धेरै जटिलताहरु रहेको उल्लेख गर्दै उनले यस प्रकारका योजनाहरु तत्काल आवश्यक रहेको बताएका हुन् । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य मिन बहादुर गुरुङ्ले अपाङ्गताको क्षेत्रलाई प्राथामिकीकरण गरि योजनाहरु निर्माण गर्ने र सो अनुकलका कानुनहरु निर्माणमा आफ्नो पहलकदमी रहने विश्वास दिलाए । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले अहिले बौद्धिक अपाङ्गता, दृष्टिविहिन र बहिरा बालबालिकाहरुका लागि आवश्यक प्रविधिमा आधारिक शैक्षिक सामाग्रीहरु निर्माणको काम गरिरहेको छ । बहिरा बालबालिकाहरुको लागि शैक्षिक तालिम केन्द्र दमौलीको सहयोग तथा श्री सृजना बहिरा आवासिय माध्यमिक विद्यालय लेखनाथको समन्वयमा केभसिटी मिडिया प्रा.लिले भर्चुअल शिक्षण सामाग्रीको निर्माण गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्