Pokharapatra National Daily

भीरकोट नगरपालिका स्याङ्जा जिल्लाको पहिलो बालमैत्री नगर घोषणा हुदैं, बालबालिकाका अधिकार सुनिश्चित गर्ने प्रतिवद्धता

यही फागुन २२ गते शनिबार भीरकोट नगरपालिकालाई गण्डकी प्रदेशको दोश्रो तथा स्याङजा जिल्लाको पहिलो बालमैत्री नगरपालिका घोषणा गरिने भएको छ ।
बालमैत्री नगरपालिकाले बालअधिकार महासन्धीमा उल्लेखित बालअधिकारको सवाललाई आत्मसाथ गर्ने गर्दछ, जसलाई नेपालले सन् १९९० मा अनुमोदन गरिसकेको छ । बालमैत्री नगरपालिका निर्माणको यात्रामा भीरकोट नगरपालिकाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको छ । जसका कारण बालबालिकाको आवाज र विचारलाई बालबालिका सम्बन्धी नीति, कार्यक्रम निर्माण तथा निर्णय प्रक्रियामा महत्वपूर्ण स्थान दिएको छ । बालमैत्री नगर घोषणा पूर्व आयाजित पत्रकार सम्मेलनमा बोल्दै भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले हामीले नगरपालिकालाई बालमैत्री घोषणा गर्दैछौं, यो संगै बालअधिकार र बालमैत्री स्थानीय शासनलाई दिगो बनाउनुपर्छ भन्ने थप जिम्मेवारी हामीले महसुस गरेको बताए । खनालले नगरपालिकाले बालिबालिकाको अवस्था र सूचकहरु थप राम्रो बनाउन, गुणस्तरीय बालमैत्री वातावरण निर्माणका लागि बालबालिकाको क्षेत्रमा निरन्तर लगानी गर्ने बताए । बालबालिकाको समग्र वृद्धि, विकासलाई प्राथमिकतामा राखी बालमैत्री नगरको पहिचान स्थापित गर्न सके यसको निरन्तरता सदैव हुनेमा खनाल आशावादी छन् । बालमैत्री नगर निर्माणका लागि केही मापदण्डहरु पूरा गर्नुपर्ने हुन्छ । सोही अनुरुप भीरकोट नगरपालिकाले २०७५ साल देखि नै बालबालिकाको क्षेत्रमा पुजिगत बजेटको केही प्रतिशत बजेट विनियोजन गर्दै आएको छ । जसले गर्दा सत प्रतिशत बालबलिका विद्यालय भर्ना हुन सहयोग मिलेको छ, सबै विद्यालयमा छात्र छात्रामैत्री शौचालय रहेको छ, सबै बालबालिकालाई पूर्ण खोप लगाइएको छ, सबै घरमा शौचालय बनेको छ, बालबालिकाहरुको जन्मदर्ता पनि भएको छ । साथै नगरपालिकाले होटल, यातायात, घर लगायतका क्षेत्रमा रहेका बालश्रम न्युनीकरणको काम तिब्र रुपमा गरिरहेको छ र वालविवाह रोकथाम, न्युनीकरणका लागि समेत सक्रियताका साथ काम गरिरहेको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति अनुसार स्थानीय तहलाई बालमैत्री गराउनका लागि ३९ ओटा सूचक पूरा गर्नुपर्ने भएकाले भीरकोट नगरपालिकाले सबै सूचकमा काम गरिहेको छ । जसमध्ये २० सूचकमा सत प्रतिशत र बाँकी सूचकहरुमा ९० प्रतिशत भन्दा बढि नतिजा प्राप्त गरेको छ ।
बालमैत्री राष्ट्रिय तालिम सहजकर्ता विष्णु चौवेका अनुसार भीरकोट नगरपालिकाका सम्पूर्ण बालबालिका, युवा र समग्र नगरबासी बधाईको पात्र हुनुहन्छ, जसले बालमैत्री स्थानीय शासनको महाअभियानलाई सफल बनाउन योगदान गर्नेछ । बालबालिकाको उज्वल र थप शान्तीपूर्ण भविष्यको लागि बालबालिकामा गरिएको लगानीको प्रतिफल स्वरुप बालमैत्री नगरपालिका घोषणा हने भएकोले राष्ट्रको प्रगतिको लागि आज यो अभियान एउटा कोशेढुङ्गा बनेको चौवेको भनाई छ ।
भीरकोट नगरपालिकाले बालमैत्री नगरको यात्रा विगत २ बर्षदेखि मात्रै शुरु गरेको थियो, यसै समयमा कोभीड महामारीको कारण अभियान प्रभाववित हुन पुग्यो । बालमैत्री अभ्यासले बालमैत्री स्थानीय शासनको प्रारुप तयार गर्न सहयोग गरेको भीरकोट नगरपालिकाका नगर प्रवक्ता दिपेन्द्र के.सी.ले बताए । बालमैत्री सम्वन्धि अबधारणा नेपाल सरकारले २०६८ सालदेखि अवलम्बन गरेको छ । बालमैत्री नेपाल निर्माणको उद्धेश्य प्राप्तीका लागि भीरकोट नगरपालिकाले स्थानीय स्तरबाट काम गरेको वडा नं ५ का अध्यक्ष याम प्रसाद अधिकारीले बताए ।
भीरकोट नगरपालिकाका बाल संजाल अध्यक्ष सुदिप पौडेलका अनुसार नगरपालिकाका सम्पूर्ण बालबालिकाको सपना पूरा भएको छ । बालमैत्री घोषणा गर्ने क्रम संगै बालमैत्री नगरको रुपमा हामीले सबै बालबालिकाको अधिकार सुनिश्चित गरेको पौडेलको भनाई छ । बालबालिकाले सुरक्षित वातवारणको महसुस गर्न पाएको र बालमैत्री वातावरणमा अध्ययन गर्ने अवसर पाएको पौडेलले बताए । बालबालिकाको आवाज सुनिदै गएको तथा योजना तर्जुमा प्रक्रियामा पनि निरन्तर सहभागी हुने अवसर पाएकोमा पौडेल खुसी छन् । पौडेल जस्तै बालक्लबमा बसेर नगरपालिका संग नजिकमा रहेर काम गर्ने अवसर पाएका कारण, विभिन्न तालिमहरुमा सहभागी भएका कारण अधिकांश बालबालिकाहरुको राम्रो क्षमता विकास भएको देखिन्छ । हजारौं मानिसहरुको अगाडि बालबालिकाहरु मञ्चमा उभिएर बोल्न सक्षम भएका छन् । यस्तै क्षमता विकासको अवसर देशका प्रत्येक बालबालिकाले पनि पाउनुपर्ने नगर बाल संजालका सहजकर्ता खुमकान्त खनाल बताउछन् ।

प्रतिकृया दिनुहोस्