Pokharapatra National Daily

‘चुनाव भयो भने आँधी हुरी आउँछ भन्नेलाई चुनावी नतिजाले उडाउनेछ’

नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रिय सदस्य तथा गण्डकी सह–इन्र्चाज खगराज अधिकारीले चुनाव भयो भने आँधी हुरी आउँछ भन्नेलाई चुनावी नतिजाले उडाउने बताएका छन् ।
नेकपा गण्डकी प्रदेश कमिटीको आयोजनामा फागुन १५ गते हुने बृहत आमसभाको तयारीका लागि पोखरा–१५ मा गरिएको युवा भेलामा बोल्दै नेता अधिकारीले केपी ओली सरकारका राष्ट्रवादी कदमको सबैले सर्मथन गर्नुपर्ने बताए । राष्ट्रियताको झण्डालाई केपी ओलीले माथि उठाएको भन्दै युवाहरुले साथ दिनुपर्ने उहाँको भनाइ थियो । ‘प्रचण्ड झलनाथ र माधव नेपालले भुमि फिर्ता बारे केही बोलेनन् केही गरेनन् तर केपी ओलीको सरकार आएपछि च्यातिएको देश जोड्छु र भुमि फर्काउँछु भनेर नक्सा प्रकाशन गर्यो’, उनले भने, ‘कालापानी लिपुलेक लिम्पियाधुराबाट भारतिय फौज हटाउछु भन्ने केपी ओलीलाई युवाले साथ दिनुपर्छ’ । देशलाई एकताबद्ध बनाउनका लागी पार्टी एकता जोगाउन आवश्यक रहेको उनले बताए ।
नेकपा केन्द्रिय सदस्य तथा कास्की अध्यक्ष कृष्ण थापाले केपी फागुन १५ गते कास्कीले करिब ६० हजार जनता उतार्ने तयारी गरिरहेको भन्दै युवाहरुलाई तयारीमा जुट्न आग्रह गरे । उनले अब आसन भाषण र शासनमा युवाहरुको आवश्यकता रहेको बताए । १ सय ५५ जना रहेको कास्की जिल्ला कमिटीमा १ सय ९ जना केपी ओली पक्षमा रहेको थापाले बताए । यस्तै पोखरा महानगरपालिकाका मेयर उपमेयर सहित १ सय ७ जना जनप्रतिनिधि समेत संस्थापन तर्फ रहेको उनको भनाइ थियो । ‘कास्कीमा पार्टी फुटेको छैन केपी ओलीको पक्षमा पार्टी छ तपाई हाम्रो पक्षमा पार्टी छ’, अध्यक्ष थापाले भने ।
कार्यक्रममा केन्द्रिय कमिटी सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य मन बहादुर गुरुङ, नेकपा केन्द्रिय सदस्य बालकृष्ण काउछा मगर, राष्ट्रिय युवा संघ केन्द्रिय सचिव महेन्द्र गुरुङ लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस्