आज : २०२६-११-२४, मङ्गलबार

प्रधानमन्त्री शाह भारत भ्रमणमा

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ ।
उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार दिउँसो १ः४५ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको हो ।
प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले बिदाइ गर्नुभयो ।
यसैगरी प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानबाट आइतबार दिउँसो स्थानीय समयअनुसार ३ः१५ बजे इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल अवतरण गर्नुभयो । उहाँलाई विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नुभयो । त्यस अवसरमा भारतका लागि नेपालका राजदूत डा निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावार र नयाँ दिल्लीस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारी लगायतको उपस्थिति थियो । प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा आउनुभएको हो । प्रधानमन्त्रीको स्वागतमा विमानस्थलमा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मी हुनुहुन्छ । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुहुनेछ ।
साथै उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीसँग यही मङ्सिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने तालिका छ । भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न परियोजनाको उद्घाटन हुनेछ । यस्तै केही नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा दुवै देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ ।
साथै भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानव संशाधन विकास जस्ता सहकार्यका विविध क्षेत्र समेटिएका विभिन्न समझदारीपत्र (एमओयू) समेत आदानप्रदान गरिनेछन् । यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुने जनाइएको छ ।
प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र सहभागी रहनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
त्यसैगरी, नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङ, प्रधानमन्त्रीका प्रमुख निजी सचिव सुभाष शर्मा र लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब प्रतिनिधिमण्डलमा रहनुभएको छ । टोलीमा परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार जगदीश्वर पाण्डे, प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियार, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव गेहेन्द्रराज राजभण्डारी, शिष्टाचार महापाल कुमारराज खरेल, परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री, अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालयका सहसचिव सुभाष ढकाल सहभागी हुनुहुन्छ ।
यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनील पौडेल, प्रधानमन्त्रीको सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक दीपा दाहाल, परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखा उपसचिव ललिता सिलवाल, उपसचिव, विजयराज तण्डुकार, परराष्ट्रमन्त्रीको प्रमुख निजी सचिव लोचन पौडेलसहित तीन सुरक्षाकर्मी र तीन सञ्चारकर्मी हुनुहुन्छ । यसैगरी छिमेकी मित्रराष्ट्र भारतको दुईदिने राजकीय भ्रमणमा यहाँ रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । नयाँदिल्लीस्थित होटल ताजमहलमा भएको शिष्टाचार भेटवार्तामा नेपाल र भारत सम्बन्धका विविध पक्ष, ‘कनेक्टिभिटी’, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल श्रेत्रीले जानकारी दिनुभयो । यसैगरी, प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशङ्करबीच द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि सो अवसरमा छलफल भएको थियो ।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न यहाँ आइपुग्नुभएको हो । प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी, सञ्चारकर्मीसमेत हुनुहुन्छ । प्रधानमन्त्री शाह नयाँदिल्लस्थित विभिन्न कार्यक्रम तथा उच्चस्तरीय भेटघाटमा सरिक भई दुईदिने राजकीय भ्रमण सम्पन्न गरी भोलि मङ्सिर ७ गते सोमबार साँझ स्वदेश फर्कनुहुने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू