Pokharapatra National Daily

नागढुङ्गा विकास समाजद्वारा इको मल वितरण

 

“कौशीखेती प्रवद्र्धन गरौं, तरकारीमा आत्मनिर्भर बनौं” भन्ने अभियानका साथ नागढुङ्गा विकास समाजले शुक्रबार एक कार्यक्रममार्फत आफ्ना सदस्यहरुलाई आंशिक अनुदानमा इकोमल, इ.एम. तथा तरकारीका बेर्ना वितरण गरेको छ ।
समाजका अध्यक्ष डम्मरराज सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा सदस्यद्वय पुष्पराज सिग्देल र लक्ष्मी कौशल विशेष अतिथि रहनुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै विशेष अतिथिद्वयले समाजसुधारको क्षेत्रमा नागढुङ्गा विकास समाजले उदाहरणीय कार्य गरेकोमा प्रशंसा गर्दै वडाको सदैव साथ र सहयोग रहने बताउनुभयो । फोहोरमैला व्यवस्थापन गरी सरसफाईमा समेत नमूना टोल बनाउने अभियानमा लागेको टोलको कार्यक्रममा मन्तव्य राख्दै पोखरा महानगरपालिा फोहोरमैला व्यवस्थापन शाखाका प्रतिनिधिले फोहोरमैला व्यवस्थापनमा समाजले चालेको अभियानमा कार्यालयको सहयोग रहने बताउनुभयो । घरबाट निस्कने फोहोर सकेसम्म स्थानीयस्तरमै विसर्जन गर्ने अभियानमा लाग्नुपर्ने कुरा समेत वहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष डम्मरराज सुवेदीले समाजको काममा सदस्यहरुले पु¥याउनु भएको सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा सल्लाहकार भीमनाथ बरालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने सचिव गुरुदत्त शर्माले कार्यक्रम संचालन गर्नुभएको थियो ।
स्मरणीय छ, पोखरा महानगरपालिका वडा नं. ८ को ५० प्रतिशत अनुदानमा १ हजार किलो मल, २० लिटर इ.एम. तथा ७० वटा तरकारीका बेर्ना समाजका सदस्यहरुलाई वितरण गरिएको थियो ।
२०६८ सालमा स्थापित नागढुङ्गा विकास समाजले दर्पण प्रकाशन, कौशीखेती प्रवद्र्धन, सरसफाई, सिसि क्यामेरा जडान, बस्तीको नामाकरण, महिला हिंसा न्यूनिकरण जस्ता उदाहरणीय कार्य गर्दै आएको छ । साथै सरसफाई, कौशीखेती, सामाजिक विकृतिविरुद्धको अभियान जस्ता कार्यक्रममा हातेमालो नागढुङ्गा आमा समूह र विकास समाजले संयुक्त रुपमा कार्यक्रम अगाडि बढाउने प्रतिवद्धता समेत उक्त कार्यक्रममा व्यक्त गरियो ।

प्रतिकृया दिनुहोस्