Pokharapatra National Daily

अन्तर्राष्ट्रिय सम्मेलनमा उच्च शिक्षामा अनुसन्धान र गुणस्तरमा जोड

जनप्रिय क्याम्पसको आयोजनामा ‘अन्तर्राष्ट्रिय सम्मेलन २०२६’ भव्य रूपमा सुरु भएको छ । जनप्रिय बहुमुखी क्याम्पसको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग (यूजिसी) को सहयोगमा सञ्चालित सम्मेलनको मुख्य नारा ‘नेपालको उच्च शिक्षामा रूपान्तरणः विश्वव्यापी प्रतिस्पर्धाका मार्गहरू’ रहेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले जनप्रिय क्याम्पसले प्राज्ञिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले अनुसन्धानले नै शिक्षाको गुणस्तर निर्धारण गर्ने बताउँदै भन्नुभयो, “अनुसन्धानविनाको उच्च शिक्षाले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्दैन। यस्ता सम्मेलनले अनुसन्धानकर्ताहरूको क्षमता र गुणस्तर वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले युजिसी यस्ता प्राज्ञिक कार्यमा सधैं सहयोग गर्न तत्पर भएको कुरामा जोड दिनु भयो ।
त्यस्तैगरि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.इन्द्रप्रसाद तिवारीले नेपाली अनुसन्धानलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन यस्ता कार्यक्रम फलदायी हुने उल्लेख गर्नुभयो । उहाँले सम्मेलनले नेपालको उच्च शिक्षालाई वैश्विक प्रतिस्पर्धामा लैजान र गहन अध्ययनको संस्कृति विकास गर्न मार्गनिर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सम्मेलनमा पूर्व उपकुलपति प्रा.डा. तीर्थराज खनियाँ, प्रा.डा. केशरजंग बराल, प्रा.डा. सरोज कोइराला, डा. कृष्णराज अधिकारी, प्रा.डा. लेखनाथ भट्टराई र डा. पितृराज बास्तोला लगायतका वरिष्ठ शिक्षाविद् तथा प्राज्ञिक व्यक्तित्वहरूले कार्यपत्र र कार्यक्रमको प्राज्ञिक औचित्यमाथि प्रकाश पार्नुभएको थियो। लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख ताराप्रसाद उपाध्यायले जनप्रिय क्याम्पसले स्थापनाकालदेखि नै सामुदायिक (पब्लिक) क्याम्पसहरूका तर्फबाट अग्रणी भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य क्याम्पस प्रमुख कृष्णबाबु बरालले सम्मेलनलाई उपलब्धिमूलक बनाउन सबैको सक्रिय भूमिका रहने अपेक्षा व्यक्त गर्नुभयो। चैत १२ गतेदेखि सुरु भएको यो सम्मेलन १४ गतेसम्म तीन दिन चल्नेछ, जसमा ३१ जना अनुसन्धानकर्ताहरूले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । जनप्रिय क्याम्पस सञ्चालन समितिका अध्यक्ष राजेन्द्र पहारीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा क्याम्पसको प्राज्ञिक गरिमा र भविष्यको कार्यदिशाबारे समेत चर्चा गरिएको थियो ।
नेपालको उच्च शिक्षालाई समयसापेक्ष र प्रतिस्पर्धी बनाउन यो सम्मेलन एक महत्त्वपूर्ण खुड्किलो साबित हुने आयोजकको विश्वास छ ।

प्रतिकृया दिनुहोस्