
‘हो, हामी क्षयरोग अन्त्य गर्छौँः राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ मंगलबार विश्व क्षयरोग दिवस पोखरामा पनि मनाइएको छ ।
देशभर विभिन्न कार्यक्रम गरी उक्त दिवस मनाएको सन्र्दभमा मंगलबार अन्तरक्रिया कार्यक्रम, र्याली तथा नाटक प्रर्दशनी लगायतका कार्यक्रम गरी गण्डकी प्रदेशको राजधानि पोखरामा पनि विश्व क्षयरोग दिवस मनाइएको हो ।
यसै सन्दर्भमा गण्डकी प्रदेशमा चालु आर्थिक वर्ष आठ महिनामै १ हजार ४ सय ५३ जना क्षयरोगका बिरामी फेला परेका छन्। जस मध्य २२ जना बालबालिका, ५ सय ५१ ज्ना महिला र ९ सय २ जना पुरुष क्षयरोगका बिरामी प्रदेशमा भेटिएको प्रादेशिक रोग नियन्त्रण कार्यालय पोखराका कार्यक्रम अधिकृत सन्तोष पौडेलले बताउनु भयो । यो सङख्या गण्डकी प्रदेशमा गत बर्ष भने २ हजार ८ सय १ जना क्षयरोगका बिरामी भेटिएको उहाँले जनाउनु भयो । एआई प्रविधिसहितको एक्स–रे मेसिन प्रयोग गरेर दुर्गम क्षेत्रमा समेत परीक्षण विस्तार गरिएको कार्यक्रम अधिकृत पौडेलले जनाउनु भयो । नेपालमा प्रमुख जनस्वास्थ्य समस्याको रूपमा रहेको क्षयरोग नियन्त्रण र अन्त्यका लागि सरकार तथा सरोकारवाला निकायले सक्रिय पहल गरिरहेका छन्। गण्डकी प्रदेश सरकारले गाउँ–गाउँसम्म पुगेर बिरामी खोज्ने अभियानलाई तीव्रता दिएको जनाएको छ । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले क्षयरोग पहिचान र उपचारलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो। विश्व स्वास्थ्य सङ्गठन का अनुसार सन् २०२४ मा नेपालमा करिब ६७ हजार नयाँ क्षयरोगी फेला परेका छन्। देशभर ६,२४१ स्वास्थ्य संस्थाबाट क्षयरोगको उपचार सेवा उपलब्ध छ भने ७८५ संस्थामा माइक्रोस्कोपी सेवा र १४२ संस्थामा निःशुल्क द्रुत परीक्षण सेवा सञ्चालनमा छन ्। गण्डकी प्रदेशमा मात्रै ८२९ डट्स केन्द्र, ३ वटा औषधि प्रतिरोधी क्षयरोग उपचार केन्द्र, १ वटा प्रेषण व्यवस्थापन केन्द्र, ११ उपकेन्द्र, १०१ माइक्रोस्कोपी केन्द्र, १० जिन एक्सपर्ट केन्द्र र ३ एक्सडिआर केन्द्र सञ्चालनमा छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष विश्वभर करिब ८० लाख नयाँ क्षयरोगी थपिने गरेका छन्। स्वास्थ्यकर्मीका अनुसार तीन हप्ताभन्दा बढी लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, सास फेर्न गाह्रो हुने, छाती भारी हुने, अचानक तौल घट्ने, अत्यधिक पसिना आउने तथा थकान महसुस हुने लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा परीक्षण गराउन आवश्यक हुन्छ । नेपालले सन् २०३५ सम्म क्षयरोग अति न्यून गर्ने र २०५० सम्म देशलाई पूर्ण रूपमा क्षयरोगमुक्त बनाउने लक्ष्य लिएको छ । यसका लागि जनचेतना, समयमै परीक्षण र नियमित उपचारमा सबैको सहभागिता अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन्। सरकारले एक क्षयरोगी बिरामीको लागि निशुलक उपचार गरेको छ जसको उपचार खर्च करिब एक लाख लगानी हुने गरेको बताइन्छ । क्षयरोग दिवसको अवसरमा पोखरामा मंगलबार अन्तरकृया, र्याली तथा सडक नाटक समेत प्रर्दशनी गरिएको थियो ।






