महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली महाशिवरात्रिको अघिल्लो साँझ पशुपतिनाथ पुगेर दर्शन गर्ने र आरतीमा सहभागी भएका छन । देशको कार्यकारी प्रमुखले देखाएको चासो र पशुपतिनाथ मन्दिरमा दर्शनमा जानू देशले कति महत्त्व दिएको छ भन्ने हो । पर्व मनाउन आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति अघिल्लो दिनदेखि वृद्धि भएको छ । यस वर्ष एक दशकयताकै सर्वाधिक भक्तजन यहाँ आउने अनुमान कोषले गरेको छ । त्यसैअनुसार पशुपति क्षेत्रमा सबै तयारी गरिएको छ । भारतको प्रयागराजमा भइरहेको महाकुम्भबाट धेरै साधुसन्त पशुपतिनाथको दर्शन गर्न आउने अनुमान गरिएको छ ।
गत पुसमा ‘पशुपति दर्शन अभियान’ मार्फत भारतमा धार्मिक अभियानकर्मी, राजनीतिक दल, व्यवसायी र सामाजिक अभियानकर्मीसँग प्रत्यक्ष संवाद भएको थियोे । यस वर्ष महाशिवरात्रिमा दर्शनार्थी बढ्ने आशा गरिएको छ। पर्व सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । सो समितिले पनि सक्रियताका साथ काम गरिरहेको छ । मन्त्री पाण्डेको निर्देशन र प्रत्यक्ष उपस्थितिमा कोषले तयारीका काम गरिरहेको छ। पर्व सम्पन्न गर्न नौ वटा विषयगत उप–समिति गठन गरिएका छन् । पशुपतिनाथ आउने दर्शनार्थीलाई सहज सेवा दिन सम्पूर्ण ध्यान केन्द्रित भएको दावी कोषको छ । यसपटक पर्व उल्लासमय वातावरणमा मनाइँदै छ । पशुपति क्षेत्र फूल र बत्तीले सिँगारिएको छ ।
नेपाल, भारत, भुटान, बङ्गलादेश, म्यान्मारसहित विश्वका धेरै देशबाट भक्तजनको उपस्थिति भइरहेको छ । व्यवस्थित रूपमा पूजाआजा र दर्शनको व्यवस्थाका लागि बुधबार बिहान २ बजेदेखि नै मन्दिरका चारवटै ढोका खोल्ने निर्णय भएको सदस्य सचिव थापाले जानकारी दिएका छन । कोषको प्राथमिकता भक्तजनको सुविधा र सहजता भएकाले त्यसैअनुरुप काम हुने विश्वास छ । दर्शनार्थी, साधुसन्त एवं भक्तजनको संख्या वृद्धि भएकाले सुरक्षा तथा स्वास्थ्यका मापदण्ड पालना गर्न कोषले आह्वान गरेको छ । पशुपति क्षेत्रमा सुरक्षा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गरिएको छ । सुरक्षा निकायसँगै कोषको आफ्नो सुरक्षा टोली पनि पशुपति क्षेत्रमा खटाइएको छ । साधुसन्त, महन्थ र भक्तजनको सुरक्षालाई विशेष ध्यान दिएर अनुगमनको प्रबन्ध गरिएको छ ।
सामाजिक एवं धार्मिक संघसंस्था परिचालन गरी पर्वलाई सहज रूपमा व्यवस्थापन गर्न लागिएको छ । यसमा कालिका साधना संघ, नेपाल रेडक्रस, स्काउट, लायन्स क्लब र धार्मिक संघ सङ्गठनका तर्फबाट स्वयंसेवक खटाइएको कोषले जनाएको छ । भक्तजनका लागि स्वास्थ्य सेवाको उचित व्यवस्था गरिएको छ । अस्पतालमा शय्या बुक गर्ने तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँगै विभिन्न क्षेत्रबाट स्वास्थ्यकर्मी, औषधि र एम्बुलेन्स तयारी अवस्थामा राखिएको कोषले जनाएको छ ।मन्दिर परिसरमा रहेको धर्मशालामा साधुसन्तका लागि बस्ने व्यवस्था गरिएको छ । तिलगङ्गासँगै हंशमण्डप, वनकालीसहितका क्षेत्रमा निःशुल्क आवास, भोजन आदिको व्यवस्थापन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिवरात्रिको पुर्वसन्ध्यामा पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन गरेका छन।त्यहाँको अवस्थाको जानकारी लिने र दर्शनार्थीलाई सहज र छिटो कसरी बनाउन सकिन्छ भन्नेबारे आवश्यक निर्देशन दिएका छन ।
हिन्दु धर्मावलम्बीले शिवरात्रिलाई धुमधामका साथ मनाउँछन।शिव मन्दिरमा गएर पुजा गर्ने, राति धुनी लगाउने काम हुन्छ।शिवको बुटी भनेर गाँजा र भाङ धतुरो खाने र बिक्री गर्ने गरिन्छ ।विक्रितिको रुपमा फैलिएको गाँजा भाङ धतुरो खान र बेच्नेलाई कार्वाही गर्न प्रहरीको सक्रियता अपेक्षित छ । शिवरात्रिको अवसरमा समस्त हिन्दु धर्मावलम्बीलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं ।