Pokharapatra National Daily

गण्डकी प्रदेशमा एमालेलाई ४, कागेंसको भागमा ५ मन्त्रालय बाडफाँड

गण्डकी प्रदेशमा नेकपा एमालेलाई ४ र नेपाली कागेंसको भागमा ५ मन्त्रालय बाडफाँड हुने सहमती अनुसार ९ वटा मन्त्रालय बनाउने निर्णय भएको छ ।
गण्डकी प्रदेशको आज बसेको क्याविनेट बैठकले प्रदेशमा हाल कायम रहेको ७ मन्त्रालयबाट २ मन्त्रालय थप गरी ९ मन्त्रालय पुर्याउने निर्णय भएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराउनु भएको हो । मन्त्रालय ७ वटा भए पनि संरचना भने ९ मन्त्रालयमा मन्त्री बाहेक अन्य संरचना भएकोले प्रदेशको खासै धेरै आर्थिक व्यहभार नहुने उहाँले जनाउनु भयो । वन वातावरण तथा उद्योग पर्यटन एउटा भए ता पनि उद्योग पर्यटनको संगठन छुट्टै वन वातावरणको संरचना छुट्टै कार्यालय र सचिवहरु नै छुट्टै रहेको उहाँले उल्लेख गर्नुृ भयो । त्यसै गरी सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयमा पनि मन्त्री एक जना हुनु हुन्थो तर मन्त्रालय र सचिव छुट्टै भएकोले सामाजिक बिकास सम्बन्धि र स्वास्थ्य सम्बन्धि छुट्टै मन्त्रालय बनाउने भएको मुख्यमन्त्री पाण्डेले बताउनु भयो । अन्य प्रदेश भन्दा गण्डकी प्रदेशमा फरक भएकोले एमालेको सहमतिमा नयाँ सरकार बनाउन केही समय ढिलाई भएको उहाँले जनाउनु भयो । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएको करिब २ महिना भन्दा बढी समय वित्दा पनि गण्डकी प्रदेशमा भने नयाँ गठबन्धनको सरकार बन्न सकेको छैन् । सरकारको नेतृत्व गरिरहेको नेपाली काग्रेंस र प्रतिपक्षमा रहेको नेकपा एमाले विचमा सहमती जुट्न नसक्दा नयाँ सरकार गठन हुन ढिलाई भएको हो । एमालेका संसदीय दलका नेता पोखरा बाहिर भएकोले पोखरा आउना साथ मन्त्रालय सहित मन्त्रीहरु नियुक्त गर्ने योजना रहेको मुख्यमन्त्री पाण्डेले जनाउनु भयो । हाल कायम रहनु भएको मन्त्रीहरुलाई भने नहटाउने उहाँले बताउनु भयो । कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा छलफल हुन बाँकी रहेको छ । मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिने नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङलाई समेत समेटेर सरकार पुनः गठन गर्ने उहाँको योजना रहेको छ । कागेंसकै भागबाट दुई जनालाई मन्त्री मण्डलमा समेटिने भएको हो ।

प्रतिकृया दिनुहोस्