Pokharapatra National Daily

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले आइतबार नमूना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् ।
पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ७२ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए । बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुलाई कार्यक्षेत्रको प्रत्यक्ष अनुभव गराउने सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको कलेजका बीबीए कार्यक्रम संयोजक हरी अधिकारीले बताए । कार्यक्रममा क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीहरुले यस्ता कार्यक्रमबाट आफ्नो व्यवसायीक जीवनमा अत्यन्त काम लाग्ने सीप सिकेकोमा खुसी व्यक्त गरिन् । यस कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ती तयार गर्न सिकेको विषय शिक्षक सुवास मल्लले जानकारी दिए । विद्यार्थीको नमुना पत्रकार सम्मेलनको प्रस्तुतीले आँफुलाइ ज्यादै आनन्दित बनाएको शिक्षक मल्लले खुशी व्यक्त गरे । कार्यक्रममा पत्रकारहरु भरत कोइराला, शोभाकान्त सिग्देल र फडिन्द्र अकिञ्चनले विद्यार्थीहरुको प्रस्तुतीकरणमा टिप्पणी तथा मूल्यांकन गरेका थिए ।
पोखरामा लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकारहरुबाट आफ्नो नमूना पत्रकार सम्मेलनमा पृष्ठपोषण पाउँदा वास्तविक सिकाई भएको कार्यक्रममा सहभागी विद्यार्थी रचित पौडेलले बताए । त्यसैगरी पढाइ सँगै प्रयोगात्मक अभ्यासले हामीलाई धेरै सिक्ने अवसर मिलेको विद्यार्थी पूजा सिग्देलले भनिन् । संचारमाध्यममा लामो समय सम्म कार्यरत पत्रकार सँग प्रत्यक्ष कुराकानी गर्न पाउँदा कसरी प्रश्न गर्नु पर्ने वारे थाह भएको विद्यार्थी रोशनी कार्कीले वताइन् ।
पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त गरी पोखरामा व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ । हाल कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सय बढि विद्यार्थीहरु बिबिए र बिसिआईएस (आईटी) कार्यक्रममा अध्ययन गरिरहेका छन् ।

 

प्रतिकृया दिनुहोस्