Pokharapatra National Daily

गण्डकीको मुख्यमन्त्रीमा अधिकारी

गण्डकी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री खगराज अधिकारी र दुई विना विभागिय मन्त्री हरि बहादुर चुमान र राजीव गुरुङ (दिपक मनाङे) ले सपथ लिनु भएको छ ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार एमालेबाट मुख्यमन्त्री बन्नु भएको अधिकारी र विना विभागीय मन्त्री हुनु भएको माओबादी केन्द्रका दलका नेता चुमान र अर्को स्वतन्त्रबाट निर्वाचित भई समाजबादीमा लाग्नु भई पुनः आफुलाई स्वतन्त्र भन्नु हुने सांसद गुरुङलाई सपथ गराउनु भएको हो । अल्पमतमा पर्नु भएको सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले राजीव गुरुङ (दिपक मनाङे) लाई भौतिक पूर्वाधार तथा यातायात ब्यबस्था मन्त्रीको रुपमा यही चैत ५ गते नियुक्त गर्नु भएको थियो । उहाँ यस पाली दुई पटक मन्त्री हुनुभयो भने अघिल्लो कार्यकालमा ३ पटक खेलकुद मन्त्रालय सम्हालिसक्नु भएको छ । एमाले संसदीय दलका नेता अधिकारीलाई आइतबार पुनः दोश्रो पटक मुख्मन्त्रीमा नियुक्त हुनु भएको हो । प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । आजै नेता अधिकारीले एमालेका २२, माओवादी केन्द्रका ८ र एक स्वतन्त्र राजीव गुरुङ(दिपक मनार्ङ) गरी ३१ जनाको समर्थनको पत्र प्रदेश प्रमुखलाई बुझाउदै नयाँ सरकारको दावी पेश गर्नु भएको थियो ।
सपथ ग्रहण कार्यक्रममा कागेंसका संसाद देखि राप्रपाका नेता तथा कार्यकर्ताहरुको समेत सहभागिता भएको थिएन् । गण्डकी प्रदेश सभामा कागेंका २७ सांसद रहनु भएको छ भने यसमा राप्रपाको २ सांसद हुनु हुन्छ । गत बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले यही चैत २७ गतेसम्म मुख्यमन्त्रीमा दाबी गर्न समय दिनुभएको थियो । दुई दिन अगावै गठबन्धन दलले मुख्यमन्त्रीमा दाबी पेस गर्नु भएको हो । तत्कालीन सत्ता साझेदार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो । दुई सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने प्रदेश सरकारलाई समर्थन गर्ने÷नगर्ने विषयमा अझै अन्यौलमा रहेको छ । मुख्यमन्त्री अधिकारीले अघिका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने बताउनु भएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टद्धारा सपथ ग्रहण गरे पश्चात पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै उहाँले समृद्ध प्रदेश सुखि प्रदेशबासी बनाउने अभियानमा अघिका सरकारले ल्याउका राम्रो कामको निरन्तरता दिदै प्रदेशको आवश्यकता अनुसारको विकास निर्माणलाई प्रथामिकता दिने बताउनु भएको हो । यसैबिच, नेपाली कांग्रेसले असंवैधानिक तरिकाबाट गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखलाई पत्र पठाएको छ । कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आइतबार पत्र पठाउँदै असंवैधानिक तरिकाबाट नेकपा (एमाले) संसदीय दल नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गर्नु भएको थियो । असंवैधानिक कदमबाट नयाँ सरकार बनेकोले त्यसका बिरुद्ध कानूनि बाटोमा लाग्ने निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनु भयो ।
आइतबार नै एमाले र माओवादी सहितले नयाँ मुख्यमन्त्रीमा अधिकारीको दाबी पेस गरेसंगै उक्त दाबीमा सांसदका पुरानो हस्ताक्षर प्रयोग गरिएको र सभामुख समेतलाई गणना गरिएकोले यो असंवैधानिक भएको कांग्रेसको दाबी छ । कांग्रेसले प्रदेश प्रमुख भट्टलाई पुनः सांसदहरूको हस्ताक्षर लिन पनि आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्