Pokharapatra National Daily

मादी गाँउपालिकाको एक फार्ममा २ सय ८० बाख्रा मरे

कास्कीको गाउँपालिका वडा नम्बर १२ मा रहेको एक बाख्रा फार्मको २ सय ८० वटा बाख्रा खाडलमा गाड्न बाध्य हुनु भएको छ ।
मादीको लिपेयनीमा रहेको स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्मका २ सय ८० बाख्रा मरे पछि त्यसको व्यबस्थापनको लागि आफ्नै बारीमा खाडल खनेर गाड्न बाध्य भएको फार्म सञ्चालक नारायण बरालले गुनासो गर्नु भयो । पछिल्लो समयमा बाख्राहरुले घाँस, दाना, पानी नखाने, सिंगान बगाउने र ¥याल काट्न थालेपछि विस्तारै झोक्राउँदै मर्न थालेको संचालक बरालले बताउनुभयो । पुष देखि हालसम्म आफ्नो खोरमा रहेका ३ वटा बोका बाहेक सबै जसो बाखा मरेको बरालले बताउनु भयो । करिब ५ करोडको लागतमा २०७४ बाट फार्म सहित ६ हजार कुखुरा पालन व्यवसायीक रुपमा सञ्चालन गर्नु भएको बरालले ठूलो संख्यामा बाख्रा मर्दा डेढ करोड क्षति भएको दाबी गर्नु भएको छ । पुषमा २२ वटा बाख्रा मरे पनि त्यसको औषधि उपचारले केही समय अन्य बाख्रा मर्न रोकिएको उनले जनाउनु भयो ।
माघ देखि पुनः बाख्रा मर्न थालेकोले ल्याव परिक्षण गरी क्रोनिक निमोनिया भएको भनि पशु विज्ञबाट जानकारी भए अनुसार घाँटीबाट इनजेक्सन दिएको त्यस पछि मर्ने क्रम नरोकिएको संचालक बरालले बताउनु भयो । गाँउकै नमुना बाख्रा फार्मको रुपमा पहिचान बनाएको उक्त फार्मबाट गतवर्ष करिब ३८ लाख रुपैयाँ आम्दानी भएकोमा यस बर्ष कम्तिमा ५० लाख आम्दानी गर्ने लक्ष्य रहे पनि बाख्रा मर्नुले आफुहरुलाई ठुलो आर्थिक क्षति भएको संचालक बरालले गुनासो गर्नुभयो ।
एउटा माउ बाख्रालाई डेढ, दुई लाखसम्म हालेर किनेको बताउँदै उहाँले अष्ट्रेलियन जातको बोएर बाख्रा गाँउमा धेरै किसानहरुले लगेको त केहीले यसबाट अन्य ठाँउमा बाख्रा पालन समेत सुरु गरेको उहाँले जनाउनु भयो । यस फार्मलाई पालिकाले सम्मान स्वरुप दुई वर्ष अघि २ लाख रुपैयाँ दिएको थियो ।
उक्त बाख्राहरु मर्नुको कारण निमोनिया रोग भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, पोखराका सूचना अधिकारी डा.गणेश केसीले बताउनु भयो । बाख्राको खोरमा अत्याधिक चिसो हुनु जसका कारण बाख्रामा निमोनिया भई फोक्सोमा असर परेर मरेको हुन सक्ने उहाँको भनाई छ । फार्म संचालकले आफुहरुलाई खबर गरे लगत्तै उहाँको फार्ममा पुगेर अवलोकन गर्दा अधिकांश बाख्रा मरि सकेको अबस्थामा आफुहरु पुगेको डा.केसीले जनाउनु भयो ।
समयमै आफुहरुलाई खबर गरेको भए उक्त फार्म संचालकले ठुलो क्षती व्यहोर्न नपर्ने उहाँको भनाई छ । उक्त बाख्रामा जुगा समेत भेटिएको डा.केसीले जनाउनु भयो । ठुलो लगानी भएका यस्ता फार्मलाई पुनः संचालन गर्न राज्यले राहत दिनुपर्ने स्थानियले समेत माग गर्नु भएको छ । गाँउकै अगुवा किसानको हाल रिक्तो खोर भएको छ ।

प्रतिकृया दिनुहोस्