आज : २०२६-१०-०३, शनिबार

पोखरामा पोखरा घर सञ्चालनमा

पोखराको पृथ्वीचोकमा निर्माण गरिएको बहुउद्देश्यीय ‘पोखरा घर’ सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाले पोखराको साहित्य, कला, सङ्गीत, संस्कृति तथा पर्यटन गतिविधिलाई एउटै स्थानबाट संरक्षण, विकास र प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरेको ‘पोखरा घर’को शुक्रबार एक समारोहबीच महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।
मेयर आचार्यले पोखराको सभ्यता, संस्कृति र पहिचानलाई पर्यटकमाझ चिनाउन कोसेली घर महत्वपूर्ण हुने बताउनुभयो । ‘पोखरा घर’मा महेन्द्रपुलमा सञ्चालन हुँदै आएको पोखरा सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी समेत स्थानान्तरण गरिएको बताउदै मेयर आचार्यले पुराना तथा ऐतिहासिक पुस्तक व्यवस्थापनसँगै आर्ट ग्यालरी, पोखरा प्रज्ञा प्रतिष्ठानका कक्ष तथा बैठक र कार्यक्रम सञ्चालनका लागि हलको समेत व्यवस्था गरिएको जनाउनु भयो । ‘पोखरा घर’ सञ्चालनमा आएसँगै पृथ्वीचोकमा यात्रु तथा सर्वसाधारणले भोग्दै आएको आधारभूत सुविधाको अभाव कम हुने अपेक्षा गरिएको मेयर आचार्यले बताउनु भयो । एउटै भवनमा कोसेली घर, एकीकृत सूचना केन्द्र, पोखरा सार्वजनिक पुस्तकालय, पोखरा प्रज्ञा प्रतिष्ठान, आर्ट ग्यालरी, टिकट काउन्टर, स्नानगृह, सार्वजनिक शौचालय, भूमिगत पार्किङ तथा घण्टा घर, सूचना केन्द्र लगायतका संरचना निर्माण गरिएको छ । पोखरा महानगरपालिका–९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले ‘पोखरा घर’लाई व्यवस्थित रूपमा सञ्चालन गरी स्थानीयवासी, यात्रु तथा पर्यटकले प्रत्यक्ष लाभ लिन सक्ने बताउनु भयो । भवनको भुइँतलामा स्नानगृह, सार्वजनिक शौचालय, सूचना केन्द्र र कोसेली घर राखिएको छ । महिला, पुरुष तथा अपाङ्गता भएका व्यक्तिका लागि छुट्टाछुट्टै र अपाङ्गमैत्री शौचालय निर्माण गरिएको छ । एकैपटक सात जनासम्मले स्नान गर्न सक्ने तथा ११ जनासम्मले शौचालय प्रयोग गर्न सक्ने गरी संरचना तयार गरिएको छ । पृथ्वीराजमार्ग सञ्चालन गर्ने कम्पनीको टिकट काउन्टर समेत यहीँ रहेको छ । पृथ्बीराजमार्ग बस संचालक कम्पनीको टिकट काउण्टर समेत त्यहाँ रहेको छ । कोसेली घरले पोखराका स्थानीय उत्पादन, हस्तकला तथा मौलिक सामग्रीको प्रदर्शन, बिक्री र बजारीकरणका लागि साझा थलोका रूपमा काम गर्नेछ । जेड आकारमा निर्माण भएको भवनमा लिफ्ट तथा अपाङ्गमैत्री संरचनासहित करिब ३१५ वर्गमिटर क्षेत्रफलमा भूमिगत पार्किङ र आकर्षक घण्टाघर निर्माण गरिएको छ । भवन निर्माणका लागि करिब ७ करोड ४६ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा ५ करोड ४२ लाख ६६ हजार रुपैयाँमा ठेक्का लागेको थियो । कोजुई आरुसी आरुसु एबी–एसी जेभीले निर्माण गरेको भवनका लागि हालसम्म ५ करोड १२ लाख २६ हजार रुपैयाँ भुक्तानी भइसकेको इन्जिनियर लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो । उद्घाटन समारोहमा उपप्रमुख मञ्जुदेवी गुरुङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्य, सल्लाहकार परिषद्का अध्यक्ष आनन्दराज मुल्मी, दलका नेताहरू दिवसमान प्रधानाङ्ग, राधिका कुमारी शाही योगी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, महाशाखा प्रमुख, कर्मचारी, सरोकारवाला तथा जग्गादाताहरूको उपस्थिति थियो । सो अवसरमा सहयोगी तथा जग्गादाताका परिवारलाई सम्मान समेत गरिएको थियो । उद्घाटनसँगै मेयर आचार्यले पोखरा बसपार्क निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने बताउँदै कसैले अवरोध गरे कानुनअनुसार कारबाही गरिने चेतावनी दिनुभएको छ । ‘पोखरा घर’ सञ्चालनमा आएसँगै पृथ्वीचोक पोखराको स्थानीय उत्पादन, कला, साहित्य, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने महत्वपूर्ण साझा केन्द्रका रूपमा विकास हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू