आज : २०२६-०८-१०, सोमबार

चार कम्पनीका ४ हजार ग्यास सिलिण्डर मात्रै वितरण हुने

पोखरा क्षेत्रमा सोमबार चार कम्पनीका करिब ४ हजार एलपी ग्यास सिलिण्डर मात्रै वितरण हुने भएको छ ।
भारतबाट आइतबारसम्म नयाँ ग्यास बुलेट नेपाल भित्रिन नसकेपछि शक्ति, गृहलक्ष्मी, साई बाबा र भानु ग्यासका गरी करिब ४ हजार सिलिण्डर बजारमा बिक्रि वितरण हुने भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो ।
आइतबारको तुलनामा सोमबार ग्यासको आपूर्ति करिब आधा घट्ने भएकाले उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न प्रशासनले आग्रह गरेको छ । सोमबार गृहलक्ष्मी ग्यासका करिब २ हजार, शक्ति ग्यासका १ हजार १ सय, साई बाबाका ६ सय र भानु ग्यासका ३ सय सिलिण्डर बिक्रीका लागि बजारमा पठाइने सहायक प्रजिअ बरालले बताउनुभयो । ती सिलिण्डर मुख्य डिपोमा नभई अधिकृत खुद्रा तथा किराना पसलबाट समेत बिक्री गर्ने व्यवस्था मिलाइएको छ ।
उपलब्ध ग्यास सबै उपभोक्तासम्म समान रूपमा पुगोस् र डिपोमा हुने भीड तथा लामो लाइन कम होस् भन्ने उद्देश्यले खुद्रा पसलबाटै वितरणको व्यवस्था गरिएको सहायक प्रजिअ बरालले बताउनुभयो। यसअघि आइतबार पोखरा क्षेत्रमा ८ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री भएको थियो । तर, मागको तुलनामा आपूर्ति कम भएपछि केही दिनयता बजारमा ग्यास अभाव देखिएको छ । उपभोक्ताले नियमित आवश्यकता भन्दा बढी सिलिण्डर खरिद गरेर घरमा मौज्दात राख्ने क्रमले समेत समस्या थपिएको व्यवसायीको भनाइ छ । गृहलक्ष्मी ग्यासका सञ्चालक धर्मराज बर्तौलाले आइतबार साँझसम्म भारतबाट ग्यास बोकेको नयाँ बुलेट नेपाल भित्रिन नसकेको बताउनुभयो । भारतबाट थप ग्यास कहिले र कति परिमाणमा आउने भन्ने विषयमा अझै स्पष्ट जानकारी नरहेको उहाँले बताउनुभयो । प्रशासनले बजारमा उपलब्ध ग्यासलाई व्यवस्थित रूपमा वितरण गर्न व्यवसायीलाई निर्देशन दिँदै उपभोक्तालाई पनि आत्तिएर आवश्यकताभन्दा बढी सिलिण्डर खरिद नगर्न आग्रह गरेको छ ।
आपूर्ति नियमित नभएसम्म ग्यासको माग र वितरणबीच सन्तुलन कायम गर्न खुद्रा पसलमार्फत वितरणलाई प्राथमिकता दिइएको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू