पूर्वाधार, हवाई पहुँच र प्राकृतिक सम्पदाको संरक्षणमा सरकार केन्द्रित हुन्छः मन्त्री पौडेल

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) ले जल सम्पदा, ताल–तलैया, प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदाले समृद्ध पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सरकार योजनाबद्ध रूपमा अघि बढेको बताउनु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पोखरा महानगरपालिकाबीच पर्यटन प्रवद्र्धन तथा पर्यटन पूर्वाधार विकासका विषयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पौडेलले पोखराको समग्र पर्यटन विकासका लागि सडक सञ्जालको स्तरोन्नति, पर्यटन पूर्वाधार निर्माण, अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तार तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी उपयोगलाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको हो ।
पोखरासँग जोडिएका प्रमुख सडकहरूको स्तरोन्नति गर्दै पर्यटकलाई सहज, सुरक्षित र गुणस्तरीय आवागमनको व्यवस्था गरिने उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय हवाई सेवा विस्तार गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न मन्त्रालयले विशेष पहल गरिरहेको उल्लेख गर्नुभयो । मन्त्री पौडेलले जल सम्पदा र तालै–तालको शहरका रूपमा परिचित पोखराको पहिचानलाई थप सुदृढ बनाउन ताल, सिमसार तथा जलचर र वनस्पतिको संरक्षणलाई प्राथमिकतामा राखिएको बताउनुभयो । नेपालभर जलचर संरक्षण अभियान सञ्चालन गर्ने तथा सम्भव भएसम्म जलचर पालनलाई समेत प्रोत्साहन गर्ने योजना सरकारको रहेको उहाँले जानकारी दिनुभयो । धार्मिक तथा सांस्कृतिक पर्यटनको विकासलाई जोड दिँदै उहाँले पोखरामा ऋषि वात्सायनसँग सम्बन्धित ऐतिहासिक स्थलको संरक्षण तथा सौन्दर्यकरण, चाँगु नारायण मन्दिर निर्माणलगायतका योजनालाई अघि बढाइएको उल्लेख गर्नुभयो । पर्यावरणमैत्री पर्यटन प्रवद्र्धनका लागि पोखरामा साइकल ट्रेल निर्माणको अवधारणालाई कार्यान्वयन गरिने भन्दै वार्षिक पाँचदेखि १० करोड रुपैयाँसम्म बजेट विनियोजन गरी साइकलमैत्री शहरको विकास गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । मन्त्री पौडेलले भारतीय पर्यटकले भोगिरहेका चुनौतीहरूको समाधान गर्दै उनीहरूको सहज आगमन र बसाइलाई व्यवस्थित बनाउन सरकारले विशेष ध्यान दिइरहेको पनि उल्लेख गर्नुभयो । कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिएपछि पर्यटन क्षेत्रलाई थप सुदृढ, व्यवस्थित र प्रतिस्पर्धी बनाउन विभिन्न योजना प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको बताउनुभयो । विकास साझेदारसँगको सहकार्यमा केही महत्त्वपूर्ण पर्यटन पूर्वाधार निर्माण सम्पन्न भइसकेको र केहीे दीर्घकालीन महत्वका अन्य आयोजनाहरू निर्माणाधीन अबस्थामा रहेको उहाँले जनाउनु भयो । पोखरा बसपार्क निर्माण, फिर्के खोला कोरिडोर, फेवाताल संरक्षण, विकास तथा प्रवद्र्धनका कार्यक्रम महानगरको प्राथमिकतामा रहेको उहाँले जानकारी दिनुभयो । मेयर आचार्यले प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा साहसिक पर्यटनको समुचित विकास मार्फत पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित महानगर निरन्तर सक्रिय रहेको स्पष्ट पार्नुभयो । छलफल कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, नेपाल पर्यटन बोर्डका सदस्य सन्तोस पोखरेल, बोर्ड गण्डकीका कार्यालय प्रमुख मणिराज लामिछाने लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा पोखराको पर्यटन क्षेत्रको दिगो विकास, पर्यटन पूर्वाधार विस्तार, हवाई पहुँच अभिवृद्धि तथा सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्यालले सहजीकरण गर्नुभएको थियो भने महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखराको पर्यटन सम्भावना तथा महानगरले सञ्चालन गरिरहेका पर्यटन प्रवद्र्धनका कार्यक्रमबारे प्रस्तुति राख्नु भएको थियो ।














