आज : २०२६-०७-१८, शनिबार

कमलपोखरी सहकारी स्थापना दिवसमा राधाकृष्ण वृद्ध आश्रमलाई सहयोग

कमलपोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–१३ ले आफ्नो १७औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै राधाकृष्ण वृद्ध आश्रमलाई सहयोग सामग्री हस्तान्तरण गरेको छ ।
स्थापना दिवसलाई तडक भडकभन्दा सेवामूलक र मानवीय कार्यमार्फत अर्थपूर्ण बनाउने उद्देश्यका साथ सहकारीका पदाधिकारी तथा सदस्यहरूको टोली शुक्रबार पोखरा–३२, लामेआहालस्थित श्री राधाकृष्ण वृद्ध आश्रम पुगेको थियो। त्यहाँ आयोजित संक्षिप्त तथा आत्मीय कार्यक्रममा आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको दैनिक जीवनयापनमा सहयोग पुग्ने विभिन्न अत्यावश्यक सामग्री आश्रम व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । सहयोग सामग्री हस्तान्तरण कार्यक्रम सहकारीका अध्यक्ष माधवप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा श्री राधाकृष्ण वृद्ध आश्रम सञ्चालक समितिका अध्यक्ष विश्वराज लामिछानेले स्वागत मन्तव्य व्यक्त गर्दै स्थापना दिवसको अवसरमा आश्रमलाई सम्झेर सहयोग गरेकोमा सहकारी परिवारप्रति हार्दिक आभार प्रकट गर्नुभयो। उहाँले यस्ता सामाजिक तथा मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन सहकारीका सचिव कृष्णबहादुर क्षेत्री (कुमार) ले गर्नुभएको थियो । उक्त कार्यक्रममा सहकारीका उपाध्यक्ष इन्द्रबहादुर कुँवर, कोषाध्यक्ष रमेशराज पौडेल, कार्यक्रम संयोजक रञ्जना भण्डारी, पूर्वअध्यक्ष रामबहादुर कार्की, सञ्चालक सदस्य राम सुब्बा गुरुङ, लेखा समिति सदस्यद्वय राधाकृष्ण बराल र कृष्ण आचार्य तथा शिक्षा उपसमिति सदस्य शान्ति के.सी. लगायतको गरिमामय उपस्थिति रहेको थियो । सहयोग सामग्री हस्तान्तरणपछि सहकारीका पदाधिकारी तथा सदस्यहरूले आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूसँग आत्मीय भेटघाट गर्दै उहाँहरूको स्वास्थ्य अवस्था र आवश्यकताबारे जानकारी लिएका थिए । स्थापना दिवसका अवसरमा सम्पन्न यस मानवीय सेवामूलक कार्यले सहकारीको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको छ। साथै, यस्ता परोपकारी गतिविधिले अन्य संघसंस्था तथा समुदायलाई समेत सामाजिक सेवामा सक्रिय हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू