आज : २०२६-०७-११, शनिबार

गण्डकी प्रदेशका ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहीलाई सम्मान

गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका ८ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरेका ६ जना पर्वतारोहीलाई नगदसहित सम्मान गरेको छ ।
शुक्रबार पोखरामा आयोजित ‘प्रदेशभित्रका पर्वतारोहीहरूलाई सहयोग तथा सम्मान कार्यक्रम’ मा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल, मन्त्रालयका सचिव रोशन ज्ञवालीलगायतले सम्मानित पर्वतारोहीहरूलाई जनही ४५ हजार रुपैयाँ, सम्मानपत्र, मायाको चिनो तथा दोसल्ला प्रदान गरी सम्मान गर्नु भएको हो । सम्मानित हुनेहरूमा गोरखाको चुमनुब्री गाउँपालिका–१ का नाङसल छ्योटोन लामा, पर्वतको कुश्मा नगरपालिका–९ का किरणबहादुर पी.सी., कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ का किशोर अधिकारी, पर्वतको बिहादी गाउँपालिका–४ का देवीप्रसाद न्यौपाने, तनहुँको ऋषिङ गाउँपालिका–२ का अमित थापा तथा तनहुँको घिरिङ (ऋषिङ) गाउँपालिका–५ का नवराज राना रहनु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा वेलनेस पर्यटनको अत्यन्तै राम्रो सम्भावना रहेको बताउनुभयो । अब पर्यटकको संख्या मात्रै बढाउनेभन्दा पनि आएका पर्यटकलाई लामो समयसम्म बस्न प्रेरित गर्ने वातावरण निर्माणमा प्रदेश सरकारको ध्यान केन्द्रित हुने उहाँको भनाइ थियो । “अब हामीले पोखरामा कति पर्यटक आए भन्नेभन्दा पनि आएका पर्यटकको बसाइ अवधि कसरी लम्ब्याउन सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ । गुणस्तरीय पर्यटक भित्र्याएर पर्यटनबाट प्राप्त हुने आर्थिक लाभ बढाउनेतर्फ अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो । मुख्यमन्त्री पाण्डेले पछिल्लो समय भारतीय पर्यटकको नेपाल तथा गण्डकी प्रदेशमा आगमन उत्साहजनक रूपमा बढिरहेको उल्लेख गर्दै पर्यटनको अफसिजन मानिने समयमा समेत पर्यटक आगमन बढ्नु पर्यटन क्षेत्रका लागि सकारात्मक संकेत भएको बताउनुभयो । भारतीय पर्यटकको बढ्दो आगमनले पर्यटन व्यवसायीलाई ठूलो राहत पुगेको उहाँको भनाइ थियो ।
मुख्यमन्त्री पाण्डेले हिमाल केवल प्राकृतिक सम्पदा मात्रै नभई नेपालको पहिचान, सभ्यता, संस्कृति र पर्यटनको प्रमुख आधार भएको उल्लेख गर्नुभयो । विश्वभर योग, ध्यान र वेलनेसप्रति आकर्षण बढिरहेका बेला गण्डकीका हिमाली क्षेत्रलाई साहसिक पर्यटनसँगै आध्यात्मिक तथा वेलनेस पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य प्रदेश सरकारले लिएको उहाँले बताउनुभयो । उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले पर्वतारोहीहरूको साहस, समर्पण र उपलब्धिले नयाँ पुस्तालाई प्रेरणा दिने बताउँदै हिमालको पहिचान र पर्यटन प्रवद्र्धनमा उहाँहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । सम्मानित पर्वतारोहीमध्ये नाहसल छ्योङ्टेन लामाले सगरमाथासहित मनास्लु र ल्होत्से हिमालको सफल आरोहण गर्नुभएको छ भने अन्य पाँच जनाले सगरमाथा, कञ्चनजङ्घा तथा अन्नपूर्ण–१ जस्ता ८ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गर्नु भएको हो । प्रदेश सरकारले स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत पाँच लाख रुपैयाँ बजेट विनियोजन गरी पर्वतारोहण क्षेत्रमा योगदान पु¥याएका प्रदेशका नागरिकलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको मन्त्रालयका उपसचिव टिकाराम पौडेलले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू