निजी क्षेत्रको सहकार्यबिना सरकार सफल हुन सक्दैनः उद्योग तथा पर्यटन मन्त्री रिमाल

गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यसोदा रिमालले निजी क्षेत्रको सक्रिय सहकार्यबिना सरकार सफल हुन नसक्ने बताएकी छन् ।
राष्ट्रको आर्थिक समृद्धिको प्रमुख आधार निजी क्षेत्र नै भएकाले सरकार र निजी क्षेत्रबीच विश्वास, सहकार्य र साझेदारी अझ सुदृढ हुनुपर्नेमा उनले जोड दिइन् । लेखनाथ उद्योग वाणिज्य संघको ३०औँ स्थापना दिवस तथा २९औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री रिमालले उद्योग, व्यापार, पर्यटन र कृषिको समन्वित विकासबाट मात्रै प्रदेश र देशको आर्थिक अवस्था मजबुत बन्न सक्ने धारणा व्यक्त गरिन्। उनले निजी क्षेत्रलाई सरकारको साझेदारका रूपमा चित्रित गर्दै व्यवसायीका समस्या समाधान गर्न प्रदेश सरकार नीतिगत सुधार तथा लगानीमैत्री वातावरण निर्माणमा प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।
उनले युवा, महिला, कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर डिजिटल प्रविधिको विस्तार गर्दै दिगो आर्थिक विकासतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याइन्। उद्योग तथा पर्यटन क्षेत्रको विकाससँगै रोजगारी सिर्जना हुने भएकाले निजी क्षेत्रलाई थप प्रोत्साहन गर्ने नीति सरकारले अवलम्बन गरेको जानकारी दिँदै लगानीकर्ताले निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण निर्माण गरिने विश्वास व्यक्त गरिन् । मन्त्री रिमालले पोखरा–३१ पुडिटारस्थित जग्गालाई प्रदेश सरकारको मातहतमा ल्याएर आगामी पाँच वर्षभित्र आधुनिक औद्योगिक क्षेत्र स्थापना गर्ने योजना रहेको जानकारी दिइन् । यसले प्रदेशको औद्योगिक विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै पोखरालाई पर्यटनसँगै उद्योगको केन्द्रका रूपमा विकास गरिने बताइन् । उनले सञ्चारमाध्यमलाई जनताको आवाज सरकारसम्म पु¥याउने प्रभावकारी माध्यमको रूपमा व्याख्या गर्दै पत्रकारिताको भूमिकाको प्रशंसा गरिन्। साथै महिलाको अर्थपूर्ण सहभागिताबिना समावेशी विकास सम्भव नहुने उल्लेख गर्दै प्रदेश सरकारले महिला उद्यमशीलता र नेतृत्व विकासलाई पनि प्राथमिकता दिएको बताइन् । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले २०५४ साल असार २० गते स्थापना भएको संघले तीन दशकको यात्रामा उद्योगी–व्यवसायीको हकहित संरक्षणसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताइन् । सीमित स्रोतसाधनका बीच संस्था आज दुई हजारभन्दा बढी सदस्य रहेको सशक्त व्यावसायिक संस्थाका रूपमा स्थापित भएको उल्लेख गर्दै उनले अग्रजहरूको योगदानको उच्च सम्मान गरिन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेलले संघीयताको मर्मअनुसार सरकार र निजी क्षेत्रबीच अझ प्रभावकारी सहकार्य हुनुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बदलिँदो समयसँगै व्यवसाय सञ्चालनको शैली पनि परिवर्तन हुँदै गएको उल्लेख गर्दै नयाँ पुस्ताले प्रविधिमैत्री सोचका साथ उद्यमशीलतामा अघि बढ्नुपर्ने बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले लेखनाथ उद्योग वाणिज्य संघले तीन दशकमा पु¥याएको योगदानको प्रशंसा गर्दै व्यवसाय सञ्चालनमा देखिएका समस्या समाधानका लागि प्रशासन सधैँ सकारात्मक रहेको बताए । संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्मचार्यले ८० सदस्यबाट सुरु भएको संस्था आज दुई हजारभन्दा बढी सदस्य भएको जानकारी दिँदै लेखनाथ क्षेत्रको पूर्वाधार विकास, आर्थिक गतिविधि विस्तार तथा सामाजिक क्षेत्रमा संघले उल्लेखनीय योगदान पु¥याएको बताए ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष बाबुराम गिरी, वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र वास्तोला, महासचिव भरतराज ओझा, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मालगायतले संघको योगदान, निजी क्षेत्रको भूमिका र भावी योजनाबारे धारणा राखेका थिए ।













