कफीखेती अर्थतन्त्रको बलियो आधार होः मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कफी मौलिक संस्कृति, आतिथ्यता र आयआर्जनको बलियो आधार बन्दै गएको बताउनुभएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डद्वारा पोखरामा शनिबार आयोजित नेपाली कफीको राष्ट्रिय प्रदर्शनी तथा कपिङ च्याम्पियनसिप कार्यक्रमको उद्घाटन गर्दै उहाँले कफी उत्पादन, गुणस्तर र बजार प्रवद्र्धन अभियानलाई थप सशक्त बनाउनुपर्नेमा बताउनुभयो ।
बाँदर तथा जङ्गली जनावरबाट कम क्षति हुने कफीलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउँदै मुख्यमन्त्री पाण्डेले कफी खेतीको विस्तारले रोजगारी सिर्जना गर्दै मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
युवा वर्गलाई कृषि पेसामा आकर्षित गर्न प्रदेश सरकारले मल, बीउ, सिँचाइलगायत पूर्वाधारमा अनुदानको व्यवस्था गरेको उल्लेख गर्दै उहाँले औषधिजन्य गाँजा तथा घरेलु मदिरा उत्पादनलाई समेत कानुनी मान्यता दिने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशमा हाल एक हजार ४५१ हेक्टर क्षेत्रफलमा कफी खेती विस्तार भएको छ भने वार्षिक १५६ मेट्रिक टन ग्रिा विा उत्पादन भइरहेको छन् भने प्रदेशका नौवटा जिल्लामा लगभग ३० हजार कृषक कफी खेतीमा आबद्ध रहेका छन् । गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भिमबहादुर कार्कीले कृषिलाई मर्यादित पेसाका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै कफी उत्पादन र व्यवसाय सञ्चालनमा बैङ्कबाट लिएको ऋणको ब्याज प्रदेश सरकारले तिर्ने व्यवस्था गरेको जानकारी दिनुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटकीय राजधानी पोखरामा पछिल्लो समय कफी व्यवसाय फष्टाउँदै गएको बताउँदै गुणस्तरी कफी उत्पादनमा कृषकहरुबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । प्रतियोगितामा ललितपुरको कफी सहकारी संघ लिमिटेड प्रथम, काभ्रेस्थित महाभारत साना किसान कृषि सहकारी संस्था द्वितीय, गोरखाको कोट थोक कफी उत्पादक कृषक समूह, काभ्रेको महादेवटार धोग कृषि फर्म र गुल्मी कफी स्टेट प्राली तृतीय भई १० हजार ८०० र छ हजार नगदसहित सम्मान पत्रले सम्मान गरिएको थियो । विभिन्न जिल्लाका ३२ प्रकारका कफी उत्पादक सङ्घको सहभागिता रहेको थियो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्ष सुरेन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बोर्ड क्षेत्रीय कार्यालय पोखराका निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरीलगायतले नेपाली कफी विस्तार, उत्पादन र गुणस्तरका बारेमा चर्चा गर्नुभएको थियो ।













