आज : २०२६-०६-०९, मङ्गलबार

बसपार्क क्षेत्रका अस्थायी घरटहरा तथा व्यवसायीक सटरहरू खाली गरिदै

पोखरा बसपार्क क्षेत्रका अस्थायी घरटहरा तथा व्यवसायिक सटरहरू खाली गराउन सुरु भई सकेको छ । पोखरा महानगरपालिकाले यही जेठ २८ सम्म सार्वजनिक जग्गामा बनेका संरचना हटाउन आग्रह गरेसंगै पोखराबस पार्क क्षेत्रमा रहेका केही व्यवसायी तथा केही सुकुम्बासीले यसरी आफै घर टहराका सामान सारी खाली गराएका हुन् ।
पोखरा महानगरपालिकाले बसपार्क निर्माणको प्रक्रिया अगाडि बढाउँदै सार्वजनिक जग्गामा निर्माण गरिएका अस्थायी घरटहरा तथा व्यवसायिक सटरहरू जेठ २८ गतेभित्र हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको हो । महानगरले जारी गरेको सूचनाअनुसार सार्वजनिक जग्गामा निर्माण भएका संरचना स्वेच्छाले हटाउन अनुरोध गरिएको छ भने तोकिएको समयभित्र संरचना नहटाइए कानुनी प्रक्रिया अनुसार हटाइने महानगरले चेतावनी दिएको छ । पोखरामा व्यबस्थित बसपार्क बनाउनु पर्ने महानगरको उक्त योजनालाई साथ दिन विगत ११ बर्षदेखि व्यवसाय संचालन गर्दै आएका राजकुमार क्षेत्रीले हिजो नै आफ्नो सटर खाली गराएको बताउनु भयो । महानगरले भत्काउनु भन्दा आफुहरु पहिले नै सटरका सामान सारीकन खाली गराइएको उहाँले जनाउनु भयो । अन्य धेरै व्यवसायी र सुकुम्बासीहरु वोल्न चाहानु भएन तर यहाँहरुले वास्तविक सुकुम्बासी, भिमुहिन, अव्यबस्थित बसोबासी र केही व्यवसायीहरुलाई राज्यले उचित व्यवस्थापन गर्नुपर्ने माग गर्नु भएको छ ।
यसैबीच बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरूको व्यवस्थापनका लागि महानगरले विभिन्न समिति गठन गरी अध्ययन तथा आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । महानगरका अनुसार वडा नं. ९ स्थित बसपार्क क्षेत्रमा बसोबासरत परिवारहरूको व्यवस्थापनका लागि यसअघि गठित जग्गा व्यवस्थापन (खोजी) समितिले सिफारिस गरेका जग्गामध्ये उपयुक्त ठहरिएका स्थानमा प्राविधिक अध्ययन गर्न छुट्टै समिति गठन गरिएको छ ।
वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलको संयोजकत्वमा गठित समितिमा आर्किटेक्चर इन्जिनियर सिद्धार्थ पाण्डे, अमिन प्रदीप सुवेदी, अमिन सन्देश सापकोटा तथा प्रशासनिक अधिकृत टिकाराम बजगाईं सदस्य सचिव रहेका छन् । समितिलाई सिफारिस गरिएका जग्गाको नापजाँच, कित्ता मिलान, खुला क्षेत्र, विद्यालय तथा अन्य पूर्वाधारका लागि आवश्यक क्षेत्र निर्धारण गर्ने, व्यवस्थापन गर्न सकिने कुल क्षेत्रफल यकिन गर्ने तथा कति परिवारलाई व्यवस्थित रूपमा बसोबास गराउन सकिन्छ भन्ने विषयमा स्थलगत अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।
महानगरका अनुसार बसपार्क निर्माणसँगै प्रभावित परिवारहरूको व्यवस्थापनका लागि तीन वटा समिति गठन गरी काम भइरहेको छ । सार्वजनिक बिदाका कारण समितिहरूले जेठ २८ गतेसम्म काम गर्ने समय पाएका छन् । यसअघि वडा नं. १७ की वडाध्यक्ष राधिका कुमारी शाही योगीको संयोजकत्वमा गठित जग्गा व्यवस्थापन (खोजी) समितिले आफ्नो प्रतिवेदन नगर प्रमुख धनराज आचार्यसमक्ष बुझाइसकेको छ भने सिफारिस भएका जग्गाबारे थप अध्ययन भइरहेको महानगरले जनाएको छ । सबैबाट आएका प्रतिवेदनका आधारमा पोखराको बसपार्क क्षेत्रलाई व्यबस्थापन गर्ने योजना रहेको मेयर आचार्यले जनाउनु भयो । त्यसैगरी वास्तविक सुकुम्बासीको पहिचानका लागि गठन गरिएको समितिले समेत काम गरिरहेको मेयर आचार्यले बताउनु भयो । पूर्व न्यायाधीश शङ्करराज बरालको संयोजकत्वमा गठित अध्ययन तथा छानबिन समितिले बसपार्क क्षेत्रको १८७ रोपनी जग्गाको सट्टापट्टा, बिक्री वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियासम्बन्धी गुनासा र उजुरीमाथि छानबिन गरिरहेको छ । उक्त समितिलाई आषाढ ४ गतेसम्म प्रतिवेदन बुझाउने समय दिइएको छ ।
यता बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बासिन्दाहरूले भने वैकल्पिक व्यवस्थाबिना आफूहरूलाई हटाउन खोजिए थप आन्दोलन गर्ने चेतानी दिनु भएको छ । भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति कास्कीको नेतृत्वमा केही साता अघि पोखरामा प्रदर्शन भएको थियो । समितिका अध्यक्ष प्रेमबहादुर गुरुङले वैकल्पिक बसोबासको सुनिश्चितता नगरी जबर्जस्ती हटाउन खोजिए सशक्त प्रतिकार गर्ने चेतावनी दिदै आउनु भएको छ ।
महानगर प्रमुख धनराज आचार्यले भने सुकुम्बासी समस्यालाई जिम्मेवार ढंगले समाधान गरिने बताउदै आउनु भएको छ । समितिहरूबाट प्राप्त हुने प्रतिवेदन, अध्ययन, तथ्य र कानुनी प्रक्रियाका आधारमा आवश्यक निर्णय तथा थप प्रक्रिया अघि बढाउने योजना रहेको उहाँले जनाउनु भयो । बसपार्क क्षेत्रमा हाल करिब ४७५ घरधुरी भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको बताइएको छ ।
महानगरले सार्वजनिक जग्गाको संरक्षण र बसपार्क निर्माणलाई अघि बढाउने नीति लिएको छ भने प्रभावित परिवारहरूले सम्मानजनक पुनस्र्थापना र वैकल्पिक बसोबासको सुनिश्चितता माग गर्दै आएका छन् । पोखरा उपत्यका नगर विकास समितिले २०३२ सालमा पोखरा बस पार्क बनाउने उद्धेश्यका साथ २ सय ५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । बसपार्क बनाउने हाल खाली जग्गा करिब १९ रोपनी मात्र खाली रहेको बताइन्छ । पृथ्वी राजमार्ग अन्र्तगत सडक खण्डले पोखरा बसपार्कको करिब १८ रोपनी जग्गा प्रयोग भएको छ । स्थतानियलदे १ सय ८७ रोपनी क्षेत्रफलमा बसपार्क बनाउन माग गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू