पोखरामा हर्ष उल्लासका साथ विदेशीसंगै होली पर्व मनाइयो

पर्याटनको राजधानी पोखरामा होली पर्व हर्ष उल्लासका साथ मनाइएको छ ।
रंगहरुको पर्वको रुपमा रहेको होली पर्व पोखरामा विभिन्न संघ संस्थाहरुले सामुहिक रुपमा एक आपसमा शुभकामना आदान प्रदान गरी रंग लगाउदै होली पर्व मनाउनु भएको हो । पोखराको लेकसाईड क्षेत्रमा विभिन्न देशका पर्यटकहरुसंगै होली पर्व मनाइएकोे रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनुभयो । यस बर्ष होली पर्वमा युरोप, अमेरीका, भारत, चाइना लगायतका पर्यटकहरु सहभागि भएको उहाँले जनाउनु भयो । स्वदेही तथा विदेशी पर्यटकहरु सडकमै नाच्दै रंगहरु एक आपसमा दल्दै खुसियाली मनाउनु भएको थियो ।
नेपालीहरुको चार्ड होली पर्वको बारेमा विदेशी पाहुनाहरुलाई जानकारी गराउदै पोखराको अम्वोटदेखि गौरीघाट, बाराहीघाट, सेन्टर प्वाइट, हल्लनचोक हुदै खहरेचोकसम्म स्वदेशी तथा विदेशीहरु बिच सामुहिक रुपमा होली पर्व मनाइएको अध्यक्ष पौडेलले बताउनु भयो । उक्त उत्सवले पोखराको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
रेवान पोखराले नेपालको संस्कृति र पर्वको बारे जानकारी गराउँदै एक आपसमा मित्रता र सद्भाव साटासाट गर्ने उद्देश्यले उक्त महोत्सव २०७५ देखि विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित मनाउदै आएको छ । पोखरा क्षेत्रका युवा युवती होली पर्व मनाउन लेकसाइड क्षेत्रमा हरेक बर्ष उर्लिने गर्नु भएको छ । जिल्ला प्रशासन कार्यालयले कसैलाई इच्छा विपरित रंग नलगाउन चेतावनी दिएको छ ।
यसैबिच, नेपाल पत्रकार महासंघ कास्की शाखाले पनि पोखरामा पत्रकारहरु बिच एक आपसमा सदभाव कायम हुने गरी होली पर्व मनाएको अध्यक्ष माधव बरालले बताउनुभयो ।
त्यस्तै मदन भण्डारी स्पोट्स एकेडेमीले खेलकुदकर्मी बिच होली पर्व मनाएको छ । उक्त अवसरमा महिला भलिवलका कप्तान अरूणा शाहीलाई सम्मान गरिएको एकेडेमीका उपाध्यक्ष राजेश कुमार गुरूङले बताउनु भयो । राखेपका पूर्व सदस्य समेत रहेका गुरुङले खेलाडीको हौसला स्वरुप ११ हजार नगद सहित सम्मान गरिएको उहाँले जनाउनु भयो ।









