Pokharapatra National Daily

घरदैलो सहकारीको रक्तदानमा ६३ युनिट संकलन

पोखराको बुद्धचोकमा रहेको घरदैलो बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा ६३ युनिट रगत संकलन गरिएको छ ।
रक्त सञ्चार केन्द्र पोखराको सहयोगार्थमा सहकारीले पहिलो पटक आयोजना गरेको रक्तदानमा उल्लेख्य सहभागिता रहेको थियो । पोखरा महानगरपालिकाका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सहकारीका सदस्य लगायतले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमको संयोजकत्व भने सहकारीका कोषाध्यक्ष रुद्रबहादुर कार्की रहेका थिए । कोभिडको महामारीले त्रासकै बीचमा अस्पतालमा उपचाररत विरामीलाई रगतकै अभावमा उपचारमा समस्या सृजना नहोस भन्ने उद्देश्यले सहकारीले रक्तदान आयोजना गरिएको कोषाध्यक्ष कार्कीले सुनाए । सहकारीको काम केवल सर्वसाधारणको पैसा बचत गर्ने र ऋण प्रवाह गर्ने मात्रै नभई सामाजिक उत्तरदायित्व समेत बहन गर्नुपर्ने भन्दै पोखरा महानगरपालिकाका सहकारी समितिका अध्यक्ष अधिकारीले सहकारीले वर्षेनी सामाजिक उत्तरदायित्वको कामहरु गर्नुपर्नेमा जोड दिए । घरदैलो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको रक्तदान कार्यक्रमको सञ्चालन भने सहकारीकी सचिव शान्तादेवी थापाले गरेकी थिईन् । रक्तदाताहरुलाई प्रमुख अतिथि अधिकारीले प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस्