Pokharapatra National Daily

अमेरिकाको ४६औँ राष्ट्रपतिमा जो बाइडेनको सपथ

 

(रासस) ः अमेरिकाको ४६औँ राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिनु भएको छ ।

उहाँलाई अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन रोबर्टसले सपथ गराउनु भएको थियो ।

यसअघि उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसलाई सर्वोच्च अदालतकै न्यायाधीश सोनिया सोतोमायोरले सपथ गराउनु भएको थियो ।

कोभिड–१९ र सुरक्षा चुनौतीका कारण राष्ट्रपतिको सपथ कार्यक्रमलाई सामान्य बनाइएको थियो । लाखौँ मानिस उपस्थित हुने प्रचलन रहे पनि यसपटक थोरै सङ्ख्याका मानिस मात्र समारोहमा उपस्थित थिए ।

उदघाटन समारोहमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले “आजको दिन प्रजातन्त्रको विजय हो, एउटा आशा र एकताको दिन हो”, भन्नुभयो ।

अहिले धेरै काम गर्नुछ, चुनौती धेरै छन्, कोभिड–१९ को ठूलो मूल्य चुकाउनु परेको छ भन्दै बाइडेनले ह्वाइट सुप्रिमेसिस्टजस्ता तत्वलाई परास्त गरेर मुलुकलाई एकताबद्ध बनाइनेछ भन्नुभयो ।

पूर्वराष्ट्रपति ट्रम्प फ्लोरिडामा यसैबीच, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथग्रहण समारोहमा सहभागी समेत नभई ह्वाइट हाउसबाट बुधबार बिहान गृहराज्य फ्लोरिडातर्फ प्रस्थान गर्नुभयो ।

अमेरिकी इतिहासमा नयाँ राष्ट्रपतिसमेतलाई बधार्ई नदिई बहालवाला राष्ट्रपतिले ह्वाइट हाउस छाडेको समकालीन अमेरिकामा यो पहिलो घटना हो । यद्यपी यसअघि अमेरिकी इतिहासमा तीन पटक सन् १८०१, १८२९ र १८६९ मा यस्तो घटना भइसकेको छ ।

ह्वाइट हाउसबाट अमेरिकी सेनाको हेलिकप्टरबाट ज्वाइन्ट बेस एन्ड्रु पुग्नु भएका ट्रम्पले त्यहाँ उपस्थित सानो संख्याका समर्थक र परिवारका सदस्यलाई सम्बोधन गर्दै अमेरिकाको नयाँ प्रशासनले अमेरिकी जनताको भावनाअनुसार काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले त्यस समारोहमा पनि नयाँ राष्ट्रपति जो बाइडेनको नाम नलिई आफूले अमेरिकी अर्थतन्त्र उकास्न निरन्तर कार्य गरेको दाबी गर्दै ‘फेरि भेटौंला’ भन्दै विदा लिनुभएको थियो ।

राष्ट्रपतिले सपथ ग्रहण समारोहमा उपस्थित नहुने बताएर हिँडे पनि उपराष्ट्रपति माइक पेन्सले उक्त समारोहमा सहभागिता जनाउनु भएको थियो ।

प्रतिकृया दिनुहोस्