संस्कृत भाषामा अध्ययन गर्ने विद्यार्थीको संख्या कम हुँदै जान थालेपछि यसप्रति आकर्षण बढाउन आवासीय पठनपाठन पनि सुरुवात भइरहेको छ ।
गुरुको पिँढीमा गएर संस्कृत भाषा अध्ययन गर्ने चलन पछिल्लो समय विद्यालय खोलेर सुरु भएको हो । पोखरामा भीमकाली पाटनमा संस्कृत पाठशाला खोलेर संस्कृत भाषाको अध्यापन सुरु गरिएको हो ।
पोखराको विन्ध्यवासिनीका पण्डित शिवकुमार रेग्मीले संस्कृत पाठशाला खोलेर अध्यापन सुरु गरेका थिए । संस्कृत पाठशालाका प्र.अ शिवकुमारको निधनपछि उनका चार छोराले त्यही पाठशालामा पढाए । दुई छोरा सोमनाथ रेग्मी र बालमुकुन्द रेग्मी प्र.अ भएर यस क्षेत्रमा संस्कृत शिक्षाको ज्योति फैलाउने काम गरे । दुई छोरा रुद्रनाथ र राजाराम रेग्मीले शिक्षक भएर पढाए । संस्कृत पाठशालाका प्र.अ रहेका बालमुकुन्दका छोरा केशवराज रेग्मीको स्मृतिमा स्थापित केशवराज रेग्मी प्रतिष्ठानले माविमा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई सम्मान गर्न सुरु गरेको छ । प्रतिष्ठानले गत वर्षको एसईई परीक्षामा ए प्लस ग्रेड ल्याई उत्तीर्ण विद्यार्थी गणेश सुवेदीलाई सम्मान गरेको छ ।
आइतबार संस्कृत मावि भीमकालीपाटनमा आयोजित कार्यक्रममा प्रतिष्ठानले सुवेदीलाई नगद रु. १० हजार सहित सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीलाल श्रेष्ठ र प्रअ दामोदर सिग्देलले नगद र सम्मानपत्र प्रदान गरेका थिए । संस्कृत माविका पूर्व प्र.अ. तारा पाखे संयोजक, पृथ्वीनारायण क्याम्पसका सह–प्राध्यापक खुमलाल पौडेल र कृष्ण रेग्मी सदस्य रहेको समितिले संस्कृत मावि कक्षा ११ मा अध्ययनरत छात्र सुवेदीलाई सम्मान गर्ने सिफारिस गरेको थियो । प्रतिष्ठानका उपाध्यक्ष विजया रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले निस्वार्थ भावनाले काम गर्ने केशवराज रेग्मी यस क्षेत्रकै उदाहरणीय व्यक्तित्व भएको चर्चा गरे । उनले संस्कृत माविको वृहत्तर विकासका लागि सबैको सहयोगको अपेक्षा गरे । त्यसैगरी प्र.अ सिग्देलले विद्यालयले १८ लाखको अक्षयकोष स्थापना गरेर विद्यार्थीहरुलाई आवासीय सेवा सहित अध्यापन गराइरहेको जानकारी दिए । छनौट समितिका संयोजक पाखेले केशवराज रेग्मीजस्तो सबैलाई सहयोग गर्ने, सधैँ हाँसिरहने राजनीतिज्ञ पाउन मुस्किल पर्ने बताए ।
प्रतिष्ठानका सचिव हेमराज रेग्मी र कोषाध्यक्ष रामप्रसाद आचार्यले केशवराज रेग्मीले राजनीति र शिक्षामा पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए । नेपाली कांग्रेसका आदर्शवादी नेताको रुपमा चिनिएका रेग्मीको गत वर्ष निधन भएको थियो । कांग्रेस सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलका सहयोद्धा रेग्मीले प्रधानमन्त्री केपी ओलीसँग सँगै जेल जीवन बिताएका थिए ।
राजनीतिमा लागेर कमाउने परिपाटी हावी भइरहेका बेला राजनीतिमा लाग्ने कमाउनका लागि होइन, गुमाउनका लागि हो भन्ने उदाहरण स्व. रेग्मी बनेका थिए ।
केशव रेग्मी प्रतिष्ठानबाट संस्कृत माविका छात्र सम्मानित
प्रतिकृया दिनुहोस्