Pokharapatra National Daily

हिल हिमालयज पोखरा सरसफाई गर्ने अभियानमा अग्रसर हुदैँ

“प्रकृतिलाई पुनःजिवन” भन्ने मुलमन्त्रका साथ हिल हिमालयजले ३० औँ पोखरा सरसफाई अभियान शनिबार सम्पन्न गरेको छ ।
करिब ६० जना अभियन्ताहरु जोडिएको सो अभियानमा विना कुनै स्वार्थ प्रकृतिको संरक्षण गर्ने उद्धेश्यले अभियान संचालन गरिएको हिल हिमालयजका संयोजक रोशन गुरुङले बताए । यस संगठनमा आवद्ध सबै विभिन्न व्यापार व्यवसायमा संलग्न व्यक्ति, विद्यार्थीहरु रहेको कारणले सबैको अनुकुल समयको आधारमा प्रत्येक शनिवार करिब ३ घण्टाको समयमा फोहोर संकलन गर्ने गरेको उनले जानकारी दिए । ‘हाम्रो वातावरणलाई संरक्षण गर्ने जिम्मा हाम्रै काधँमा छ,आफैँको हेरचाह गर्नका निम्ति हामीले प्रकृतिको ख्याल गर्नुपर्छ,’ उनले भने ।
३० औँ संस्करणमा आईपुग्दा यस संगठनले डाँडापाखाहरुको लगभग फोहोर संकलन गरि करिब ४३ हजार किलो फोहोर महानगर पठाईसकेको र हाल ल्याण्डफिल्डमा विशेष गरेर ताल आसपासका क्षेत्रमा रहेका फोहोर संकलन गर्ने कार्यमा जुटेको उनको भनाई थियो । यसका निम्ति संगठनले सम्वन्धित वडासँग समन्वय गरी कार्य गरिरहेको छ भने फोहोर व्यवस्थापनको लागि वडाले गाडी उपलब्ध गराउने गरेको गुरुङले बताए । पोखरा भित्र बसोबास गर्ने युवाहरुको संगठन रहेको यस हिल हिमालयजले बाहिरी आर्थिक सहयोग विना नै स्वतस्र्फुत पकेट खर्चबाट आर्थिक भार धानिरहेका छन् । तर यस संगठनको कार्यबाट प्रभावित भई विदेशमा बसोबास गर्नेहरुको तर्फबाट करिब २ लाख सहयोग प्राप्त हुनुको साथै विभिन्न संघसंस्थाबाट फोहोर संकलनमा आवश्यक पर्ने उपकरणहरु समेत सहयोग स्वरुप प्राप्त गरेको छ ।
संगठनको कार्यबाट प्रभावित भएर बेनी, काठमाडौँ लगायत स्थानमा यस अभियानको विस्तार भएको छ । भावी समयमा संगठनको कामलाई निरन्तरता दिदैँ सम्वन्धित निकायहरुसँग हातेमालो गर्दै आगाडी बढ्ने सोचका साथ यस संगठनले आर्थिक पाटो दरिलो बनाउन विविध गतिविधिहरुको प्रतिवेदन सम्बन्धित निकायमा बुझाएका छन् ।
अब आउने दिनमा विभिन्न सरकारी देखि गैह्रसरकारी संघसंस्था र निजि देखि सरकारी विद्यालयका विद्यार्थीहरुका निम्ति प्रकृति संरक्षणसंग सम्वन्धित सैद्धान्तिक कार्यक्रमहरु लैजाने संगठनले योजना बनाएको छ । यसले जनस्तरसम्ममा फोहोर व्यवस्थापनका सहयोग पुग्ने र जनचेतना फैलाउने विश्वास लिइएको छ ।

प्रतिकृया दिनुहोस्