Pokharapatra National Daily

संकल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रदेशसभाले पारित गरेको कोरोनाको नियन्त्रणसम्बन्धी सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।
दुवै दलका तर्फबाट बुधबार संयुक्तरूपमा आयोजित पत्रकार सम्मेलनमा सर्वसाधारणको हितलाई दृष्टिगत गर्दै पारित सङ्कल्प प्रस्तावलाई प्रभावकारी कार्यान्वयनमा लैजान सरकारलाई आग्रह गरिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आमजनताको हितलाई दृष्टिगत गर्दै यस सङ्कल्प प्रस्तावलाई अघिल्लो अधिवेशनमा समेत प्रस्तुत गरिएको बताउँदै विशेष अधिवेशनमा सत्तापक्ष र प्रतिपक्ष सबैको सहमतिमा सर्वसम्मत साझा प्रस्तावका रूपमा पारित भएको बताए । सङ्कल्प प्रस्ताव पारित हुनुले देशको विकराल परिस्थितिमा एकताबद्धरूपमा समाना गर्न सक्छौँ भन्ने सन्देशसमेत दिएको उनको भनाइ थियो । जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य हरिशरण आचार्यले कोरोना नियन्त्रणका सम्बन्धमा सत्तपक्ष र प्रतिपक्ष एकमत बन्नु सकारात्मक भएको बताउँदै आगामी दिनमा यसको कार्यान्वयन कसरी अघि बढ्छ त्यसतर्फ निरन्तर चासो दिइने उल्लेख गरे । कोरोनाको निःशुल्क उपचार, पिसिआर परीक्षणको दायरा बढाउनुपर्नेलगायतका १३ बुँदासहित पुस २४ गते प्रदेशसभामा दर्ता सङ्कल्प प्रस्ताव मङ्गलबार बसेको बैठकले सर्वसम्मत पारित गरेको थियो ।
विपक्षी दलका नेता नेपालीले दर्ता गर्नुभएको सङ्कल्प प्रस्तावको जनता समाजवादी दलका आचार्य, नेकपाका तर्फबाट मायानाथ अधिकारी र गायत्री गुरुङ, तथा राष्ट्रिय जनमोर्चाको कृष्ण थापाले समर्थन गरेका थिए ।

प्रतिकृया दिनुहोस्