Pokharapatra National Daily

बेपत्ता र सत्य निरुपण विधेयक छिटो अघि बढाऔँः पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले बेपत्ता पारिएका नागरिकको खोजी र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विषय संवदेनशील रहेकाले विधेयक छिटो अघि बढाउनुपर्ने बताउनुभएको छ ।
तत्कालीन दस वर्षे जनुयुद्धका क्रममा राज्यद्वारा बेपत्ता पारिनुभएका विद्यार्थी नेता पूर्ण पौडेलको स्मरण तथा प्रतिष्ठान घोषणा कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै उहाँले विभिन्न मानिसका चलखेल र धमिलो पानीमा माछा मार्ने प्रवृत्तिले गर्दा आयोगसम्बन्धी विधेयक लामो समय अड्काएर राखिएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “शान्ति प्रक्रिया सुरु भएको र संविधान निर्माणको लामो समय व्यतीत हुँदासमेत शान्ति प्रक्रियामा व्यवस्था भएका बेपत्ता भएका नागरिकको खोजी र सत्य निरुपण तथा मेलमिलाप आयोगको काम पूरा भएको छैन ।” हालसालै मात्र प्रमुख दलहरुबीच सो सम्बन्धमा भएको सहमतिबारे अध्यक्ष भट्टराईले भन्नुभयो, “विधेयक विशेष समितिमार्फत छिटो अघि बढाउने र आयोगबाट टुङ्गो लगाउने भन्ने भएको छ । अब आरोप प्रत्यारोप नगरिकन संवेदनशील विषयलाई छिटोभन्दा छिटो टुङ्गाउनुपर्दछ ।” डा भट्टराईले सहिद, बेपत्ता तथा घाइतेको विषय माओवादीको मात्र विषय नभएको बताउनुभयो ।
जनुयद्धले लडेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशीतालगायत विषय सबै पार्टी र जनताको भएकाले त्यसका लागि लड्नेको समस्या पनि सबैको भएको उहाँको भनाइ छ । पूर्वप्रधानमन्त्री भट्टराईले जनताको असन्तुष्टिलाई सम्बोधन गर्न नसके देश डरलाग्दो अराजकतामा फस्नेसमेत उल्लेख गर्नुभयो । “देशमा चरम असन्तुष्टि छ । केही समययताका परिघटना हेर्नुस् वा उपनिर्वाचनलाई हेर्नुस् । जुन प्रकारका असन्तुष्टिहरु व्यक्त भईराखेका छन् । यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।” उहाँले भन्नुभयो । उहाँले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर छिटोभन्दा छिटो जनतालाई सुशासन र समृद्धिको जनताको चाहना पूरा गर्नेतर्फ लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सहिद, बेपत्ता तथा घाइतेलाई न्याय दिनु राज्यको कर्तव्य भएको बताउनुभयो । देशमा एकाधिकारवादी दलाल पुँजीवाद हाबी भएकाले यसको अन्त्य बिना आर्थिक क्रान्ति सम्भव नहुने महासचिव गुरुङले बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नेपालमा संसदीय व्यवस्था असफल भएको दाबी गर्नुभयो । छोटो समयमा सरकार परिर्वतन हुँदासमेत जनताका चाहना सम्बोधन नभएको चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “आजको आर्थिक, राजनीति, सांस्कृतिक सङ्कटको मुख्य कारण राजनीतिक प्रणाली स्थिर हुन सकेन । सरकारले सपना, लक्ष्य र मानचित्र प्रस्तुत गर्न सकेन । अहिले देशमा स्थिरता चाहिएको छ ।” कार्यक्रममा नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापा, नेकपा (एकीकृत समाजवादी)का नेता श्रीनाथ बराललगायतले परिर्वतनमा योगदान दिने सहिद तथा बेपत्ताका सपना पूरा गर्नुपर्ने दायित्व सबै राजनीतिक दलहरुको भएको बताउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्