Pokharapatra National Daily

घरबासलाई रु पाँच लाख सहयोग

भिमाद नगरपालिका–९ पाथर्दीमा सञ्चालित पाथर्दी सामुदायिक घरबासको विकासका लागि रु पाँच लाख सहयोग प्राप्त भएको छ ।
सोही ठाउँ घर भई हाल काठमाडौँ बस्दै आउनुभएका दिलबहादुर थापाले उक्त रकम सहयोग गरेका हुन् । सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेलाई उनले रु पाँच लाखको चेक हस्तान्तरण गरे । दिलबहादुर काठमाडौंमा रहेको हाईभिजन गु्रपका प्रबन्ध निर्देशक रहेका छन् । आफ्नो जन्मगाउँमा घरबास सञ्चालन गरी देशभर ख्याति कमाएको र अझै घरबासको विकास गर्नलाई आर्थिक अभाव नहोस् भनेर सहयोग गरेको उनले बताए । यसअगाडि पनि थापाले पाथर्दीको युवा क्लबलाई खेल मैदान निर्माण गर्न चार रोपनी जग्गा खरिद गरिदिएको पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष आलेले जानकारी दिए । मगर समुदायको बाहुल रहेको पाथर्दीका १० घरमा घरबास सञ्चालन गरिएको छ । दुई वर्षदेखि यहाँ घरबास सञ्चालित छ । बोयर बाख्रापालनले प्रख्यात बनेको गाउँलाई पर्यटनसँग जोडेर यहाँका स्थानीयवासी आत्मनिर्भर बन्न खोजेका छन् । घरबासको प्रचारप्रसारका लागि केही दिन अगाडी मात्रै पदयात्रा सम्पन्न भएको छ । कोभिडका कारण रोकिएको पर्यटकीय गतिविधि सञ्चालन गर्न, सोही ठाउँमा रहेका सिद्धगुफा, इलुङ झरनालगायत प्रचारप्रसारका लागि घरबास व्यवस्थापन समितिले पदयात्रा सञ्चालन गरेको थियो ।

प्रतिकृया दिनुहोस्