Pokharapatra National Daily

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफनलाई

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा विदेशी धावक केन्याका खेलाडीको वचश्र्वो रहेको छ । १७ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि यस बर्ष पनि केन्याका धावक स्टेफन कोसगेईले जिते ।
गत बर्षका विजेता स्टेफनले निर्धारित दुरी ४२.१९५ किलोमिटर म्याराथन दौडमा २ घण्टा २० मिनेट ७ सेकेण्डमा पार गर्दै यस बर्ष पनि उपाधि आफ्नो पोल्टामा पार्न सफल भए । व्यक्तिगत रुपमा उनले गत बर्ष को समय (२ः१९ः४३) भन्दा २४ सेकेण्ड बढी समय लागेर यस बर्ष दुरी पार गरेका हुन् ।
केन्याकै अर्को धावक जुलिस मोरुकीले प्रतियोगितामा दोश्रो भए । पोखरा म्याराथनमा पहिलो पटक सहभागि भएका उनले उक्त दूरी २ घण्टा २१ मिनेट ३५ सेकेण्डमा पूरा गरे । नेपाल आर्मीका हुमलाल श्रेष्ठले उक्त दुरी २ घण्टा २५ मिनेट १४ सेकेण्डमा पूरा गर्दै तेश्रो भए । केन्याका सिमोन चौथो भए । उनले उक्त दुरी २ घण्टा २९ मिनेट ३५ सेकेन्डमा पूरा गरे । पोखरा म्याराथनमा उपाधि बिजेता स्टेफेनले ५ लाख दोश्रो भएका मोरुकीले ३ लाख र तेश्रो भएका श्रष्ठले २ लाख रुपैयाँ प्राप्त गरे ।
शनिबार नै भएको महिला तर्फको हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुरा पछाई प्रथम भएकी छिन् । उनले २१ किमी दुरी १ घण्टा २३ मिनेट ०६ सेकेण्डमा पूरा गर्दै सफल पोखरा म्याराथनमा लगातार तीन पटक विजेता हुदै ह्याट्रिक पूरा गरिन्। यस अघि १५ र १६ औं पोखरा म्याराथनमा उनले हाप म्याराथनमा विजेता भएकी थिइन । एपिएफकी बृन्दा श्रेष्ठ देसारले निर्धारित दूरी १ घण्टा २६ मिनेट २५ सेकेण्डमा पूरा गर्दै दोस्रो भइन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपानले निर्धारित दुरी १ घण्टा ३० मिनेट १४ सेकेण्डमा पूरा गरी तेश्रो भइन्। त्यसैगरी महिला हाफ म्याराथनमा बिजेता राजपुराले १ लाख ५० हजार, द्वितीय बृन्दाले १ लाख तेश्रो पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
उक्त पोखरा म्याराथनको अवसरमा आयोजित गण्डकी प्रदेशका खेलाडीहरु बिचको प्रतिष्प्रर्धामा लमजुङका रामजी बस्नेत प्रथम भएका छन्। उनले निर्धारित दुरी २ घण्टा ४१ मिनेट ३३ सेकेण्डमा पार गरेका हुन्। गोर्खाका निरज भट्टले निर्धारित दुरी २ घण्टा ४५ मिनेट १३ सेकेण्डमा पार गर्दा गोर्खाका श्याम मगरातीले २ घण्टा ५० मिनेट ३ सेकेण्डमा उक्त दुरी पार गरी तेश्रो भए । म्याराथन तर्फ गण्डकी प्रदेश स्तरिय प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोश्रो हुनेले ३० हजार तेश्रो हुनेले २० हजार प्राप्त गरे ।
शनिबार भएको १० किलोमिटर दौडमा नेपाल आर्मीका संजय श्रेष्ठ प्रथम आर्मीकै सुवास कार्की दोश्रो र पाचथरका दीपक सुहाङ तेश्रो भए । उक्त दुरी उनीहरुले क्रमशः प्रथमले ३६ मिनेट २९ः९, दोश्रोले ३६ः५४ः९ र तेश्रो हुनेले ३७ः००ः८ मिनेटमा पुरा गरेका हुन्। त्यसै गरी महिला तर्फको १० किलोमिटर दौडमा एपिएफकी आसा राउतले निर्धारित दुरी ५० मिनेट १२ः३ सेकेण्डमा पार गर्दै प्रथम भईन्। पुलिसकी बृस्मा कुमालले ५० मिनेट २९ः६४ सेकेण्डमा उक्त दुरी पार गरी दोश्रो र आर्मीकी कल्पना खड्काले निर्धारित दुरी ५१ मिनेट ६ः७७ सेकेण्डमा पार गरेकी हुन्।
त्यसै गरी ५ किलोमिटर छात्रा तर्फको दौडमा छोरेपाटन माविकी नारायणी भण्डारी प्रथम भएकी छन्। त्यसै गरी इन्द्रराज्य लक्ष्मी माविकी आइती माया घले दोश्रो र मेनुका अधिकार तेश्रो भएकी छन्। छात्र तर्फको ५ किलोमिटर दौडमा बागलुङको श्री रेसा नुन थला माविका बादल कार्की प्रथम, छोरेपाटन माविका तेन्जोन रोका दोश्रो र सैनिक आवासिय महाबिद्यालय पोखराका सागर लामा तेश्रो भए ।
ह्विल चियर प्रतियोगितामा दान थिन प्रथम, सुरज गौली दोश्रो र जीवन श्रेष्ठ तेश्रो भएभने सोही इभेण्टको महिला तर्फ लक्ष्मी सुनार प्रथम, धना मगर दोश्रो र ववित्रा बिक तेश्रो भइन्। दृष्टिविहिन महिला तर्फको दौडमा विनिता पुन प्रथम, सृजना परियार दोश्रो र देवि बराल तेश्रो भइन्। सोही इभेण्टको पुरुष तर्फ विरेन्द्र लामिछाने प्रथम, आसिक खड्गी दोश्रो र प्रेम क्षेत्री तेश्रो भए । विजयी खेलाडीहरुको टोलीलाई ग्रिसका अबैतनीक राजदुत बिक्रम पाँडे, हिमश्री फुड्स प्रालिका अध्यक्ष गणेश बहादुर श्रेष्ठ, पुर्व अन्तर्राष्ट्रिय पदक धारी खेलाडी गणेश भट्टराई, पोखरेली मञ्च युकेका अध्यक्ष करम गुरुङ, मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, पूर्व अध्यक्ष तेज बहादुर गुरुङ, सामाजिक अभियान्ता मन्जु गुरुङ लगायले पुरस्कार वितरण गरेका थिए ।
भूतपूर्व खेलाडी मञ्चको आयोजना भएको उक्त म्याराथन प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गरे । मुख्यमन्त्री अधिकारी, पोखराका मेयर धनराज आचार्य लगायतले ५ किलोमिटर दौड समेत पूरा गरे । प्रदेशका आर्थिक मामिला मन्त्री सिता कुमारी सुन्दास, सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङ सहितका मन्त्री एवं सांसद सहितका अन्य विभिन्न संघ संस्थाका व्यक्तिहरु रन फर फनमा सहभागि भए । कार्यक्रममा बोल्दै मुख्यमन्त्री अधिकारीले आगामी बर्षमा ३ घण्टा म्याराथन संचालनको रुटमा सडकमा सवारी पूर्ण रुपमा ठप्प पारेर पोखरालाई खेलमय बनाउनु पर्ने बताए ।
१७ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सहित विभिन्न दौड एवं रन फर फनमा करिब ५ हजार जना सहभागि भएको मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले बताए । प्रतियोगितामा ७ वटै प्रदेशका ३७ जिल्लाबाट प्रतियोगिहरु सहभागि भएको मञ्चले जनाएको छ । प्रतियोगितामा १६ देशका २९ जना विदेशी धावकहरु सहभागि भएको मञ्चका अध्यक्ष हरि पराजुलीले बताए । सिटी म्याराथनको अवधारणामा आयोजना हुँदै आएको नेपालकै जेठो म्याराथन म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ‘एसोसियसन अफ इन्टरनेशनल म्याराथन्स एण्ड डिष्टेन्स रेसेस’ (एम्स)मा दर्ता भए पछि पहिलो पटक आयोजना भएको मञ्चले जनाएको छ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत ९ वटा इभेन्टहरु एकै पटक एकै दिन हुने जसको पुरस्कार मात्र १७ लाख ५२ हजार खर्च भएको अध्यक्ष पराजुलीले बताए ।
पोखरेली प्रतिष्ठित औधोगिक प्रतिष्ठान लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरी प्रालिको मुख्य उत्पादन सफल दुधको मुख्य प्रायोजनामा भएको पोखरा अन्तर्राष्ट्रिय म्याराथन गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालय, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, प्रदेश खेलकुद परिषद गण्डकी लगायतकाले सहयोग गरेका छन् । त्यसै गरी पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनरको रुपमा पोखरेली मञ्च युके, नेपालको प्रतिष्ठित बैंक कृषि विकास बंैक बैकिङ पार्टनरको रुपमा रहने छ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रवद्र्धकको रुपमा नेपाल पर्यटन वोर्ड रहेको आयोजकले जनाएको छ । कार्यक्रममा शिनेकर्मी गौरी मल्ल, हास्ँय कलाकार जितु नेपाल, हिमाली सांस्कृति परिवार, विभिन्न बिद्यालयका बिद्यार्थीहरु लगायतको प्रस्तुती समेत रहेको थियो । आयोजकले यस पाली केही व्यवस्थापनमा कमीकमजोरीका कारण दौड सुरु हुदा र पुरस्कार वितरणसम्म केही समस्या र निकै लामो भएको थियो । बिद्यालय स्तरिय छात्रा तर्फ ५ किलोमिटर दौडको विजेता उपविजेताहरुको घोषणा गर्न पनि निकै समय लाग्यो भने पहिलो प्रथम र तेश्रोको घोषणा भई पुरस्कार वितरण पश्चात खेलाडीको दबाबका कारण केही समय पछि मात्र इन्द्र राज्य लक्ष्मी माविकी छात्रा आइतीमाया घलेलाई दोश्रो भएको घोषणा सहित पुरस्कार प्रदान गरिएको थियो । आयोजकले भने यस पटक चिप्स प्रयोग गरेका कारण नतिजा सार्वजनिक गर्न ढिलाई भएको जनाएको थियो । पुरस्कार वितरण गर्न मात्र करिब ३ घण्टा लागेको थियो ।

प्रतिकृया दिनुहोस्