Pokharapatra National Daily

पोखरामा अघिल्लो वर्षको तुलनामा सन् २०२० मा १४ प्रतिशत मात्र विदेशी पर्यटक आगमन

पोखरामा सन् २०१९ को तुलनामा सन् २०२० मा करिब १४ प्रतिशत मात्र विदेशी पर्यटक आगमन भएको छ ।
हवाई उडान हुदै पोखरा आउने तथा पोखराबाट अनेत्र जाने विदेशी पर्यटकहरुको संख्या अघिल्लो वर्षको तुलनामा सन् २०२० मा भारी गिरावट हुँदा १४ प्रतिशत मात्र विदेशी पर्यटक पोखरा भित्रिएको पोखरा नागरिक उड्डयन कार्यालय पोखराका सूचना अधिकारी देवराज सुवेदीले बताए ।
सन् २०२० मा हवाई उडानबाट पोखरा आउने तथा पोखराबाट अनेत्र जाने २५ हजार ५ सय ८५ जना पर्यटकहरु मध्य ९ हजार ३ सय ३८ जना पर्यटक विभिन्न क्षेत्रबाट पोखरा भित्रिएको उनले जनाए । सन् २०२० मा पोखरामा ९ हजार ३ सय ३८ जना विदेशी पर्यटकहरु हवाई उडानबाट भित्रिएका हुन् । सन् २०२० मा पोखराबाट हवाई उडान हुँदै १६ हजार २ सय ४७ जना पर्यटकहरु काठमाडौं, चितवन, भैरहवा लगायतको क्षेत्र तर्फ बाहिरिएको सूचना अधिकारी सुवेदीले बताए । सन् २०२० मा भन्दा सन् २०१९ मा १ लाख ६७ हजार ८ सय ६७ जना बढी पर्यटक हवाई उडानबाट पोखरामा आउने तथा जाने गरेको उनले जनाए । सन् २०१९ मा भने ८२ हजार ३ सय १ जना विदेशी पर्यटक हवाई उडान मार्फत पोखरा भित्रिएका थिए भने पोखराबाट १ लाख ११ हजार १ सय ४१ जना विदेशी पर्यटक बाहिरिएको कार्यालयले जनाएको छ । सन् २०२० मा हवाई उडानबाट पोखरा आउने तथा पोखराबाट अनेत्र जाने पर्यटकहरुको संख्यामा भारी गिरावट आएको छ ।
सन् २०१९ भन्दा २०२० मा हवाई उडानबाट ८६ प्रतिशत जसो पर्यटक आगमनमा गिरावट आएको छ । सन् २०१९ मा पोखरामा हवाई उडानबाट १ लाख ९३ हजार ४ सय ४२ जना पर्यटक आउने तथा जाने गरेका थिए भने सन् २०२० मा भने २५ हजार ५ सय ८५ जना मात्र पर्यटक पोखरा आउने तथा पोेखराबाट अनेत्र जाने गरेको सूचना अधिकारी सुवेदीले बताए । सन् २०१९ भन्दा सन् २०२० मा हवाई उडान ७२ प्रतिशतले कमी भएको छ भने हवाई उडानमा यात्रा गर्ने पर्यटकको समग्र पर्यटकको संख्यामा ६४ प्रतिशतले हस आएको सूचना अधिकारी सुवेदीले बताए । सन् २०१९ मा पोखराबाट ३९ हजार ९ सय २० वटा हवाई उडान हुँदा भन्दा सन् २०२० मा भने ७२ प्रतिशतले कमी आउदा ११ हजार १ सय १८ वटा मात्र हवाई उडान भएको उनले जनाए । त्यस्तै सन् २०२० मा भन्दा सन् २०१९ मा २ लाख ३१ हजार ४ सय ३५ जना बढी पर्यटक हवाई उडानबाट पोखरा आउने तथा जाने गरेका थिए । सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्षको घोषणा गरी २० लाख पर्यटक भित्राउने लक्ष्य राखेकोमा जनवरी र फेब्रुअरी महिनामा अघिल्लो वर्षको तुलनामा सन् २०२० मा भने हवाई उडानसंगै विदेशी पर्यटक पोखरा आउने तथा पोखराबाट अन्य ठाँउमा जानेको सङख्या बृद्धि भएको थियो । सन् २०१९ को जनवरी महिनामा २ हजार ९ सय १० वटा हवाई उडान हुदा १२ हजार ९ सय ५५ जना विदेशी पर्यटक पोखरा आउने तथा पोखराबाट बाहिर जाने गरेको सूचना अधिकारी सुवेदीले बताए ।
सन् २०२० को जनवरीमा भने ३ हजार ६५ वटा हवाई उडान हुँदा १३ हजार २ सय ५६ विदेशी पर्यटक पोखरा आउने तथा पोखराबाट बाहिर जाने गरेको उनले जनाए । त्यसै गरी सन् २०१९ मा फेब्रुअरीको महिनामा २ हजार ७ सय ४८ वटा हवाई उडान भयो भने सन् २०२० को फेब्रुअरीमा २ हजार ३ सय ८१ पोखरामा हवाई उडान भएको थियो । कोरोना भाइरसले गर्दा नेपालको इतिहासमा पहिलो पटक लगातार रुपमा हवाई उडान बन्द हुन पुग्यो ।
सन् २०२० को लगातार ५ महिना अप्रिल, मे, जुन, जुलाई र अगष्ट महिनामा पोखरामा न्यून सङख्यामा हवाई उडान भए पनि विदेशी पर्यटक भने एक जना पनि यात्रा नगरेको कार्यालयले जनाएको छ । जुलाई देखि हवाई उडान सुरु भए पनि हाल पर्यटक आगमनमा केही सुधार हुदै आएको सूचना अधिकारी सुवेदीले बताए । पोखरामा हाल पोखरा अल्ट्रालाइट, हेलियरको सेवा जारी रहेको छ भने एभिया क्लव र फिस्टेल अल्ट्रालाइटले पूर्ववत रुपमा अझै आफ्नो सेवा संचालनमा ल्याउन सकेको छैन्। पोखरालाई वेस बनाएर प्रभु हेलिकोप्टरले सेवा दिइ रहेको छ ।

प्रतिकृया दिनुहोस्