कास्की मादी गाउँपालिका– २ स्थित अन्नपूर्ण र लमजुङ हिमालको काखमा अवस्थित पर्यटकीय गाउँ ताङ्तिङ चिनाउने यहाँस्थित हिमालय मिलन माविका प्रधानाध्यापक ओमप्रकाश गुरुङ ले पुस्तक लेखेका छन् ।
उनले प्राकृतिक सुन्दरताले भरिपूर्ण गुरुङ जातिको आदिम थलो क्लोरासोंथरको सहित ताङ्तिङको चिनारीलाई ‘ताङ्तिङ मेरो गाउँ’ मा उतारेका हुन् । शिक्षा क्षेत्रमा विशेष योगदान पु¥याउँदै आउनुभएका उनले पछिल्लो समयमा ताङ्तिङलाई पर्यटकीय गाउँ बनाउन ‘जाउँजाउँ ताङ्तिङ’का अभियानमा समेत सक्रिय रहेका छन् । लाहुरे परिवार र संस्कृतिमा हुर्किएका उनले तत्कालीन समयमा लाहुरे बन्ने सपना त्यागेर शिक्षाको ज्योतिबाट गाउँलाई चिनाउन सक्रिय बने । पोखराको पृथ्वीनारायण क्याम्पसबाट भूगोलमा स्नातकोत्तर गरेका उनले २०७० सालमा कोरियास्थित युगनाम विश्वविद्यालयमा पार्क चु हि स्कुल अफ पोलिसी एण्ड समुलबाट समुदायको नीति, नेतृत्व र आर्थिक विकासमा दोस्रो स्नातकोत्तर गर्ने अवसर प्राप्त गरे ।
देशविदेशको फरक जीवनशैली, फरक परिवेश रहनसहन र संस्कृति देख्दा भोग्दा र अनुभव गर्दा नवीनतम सोंचले उनलाई आफ्नो गाउँप्रति माया जगाएको छ भने जन्मभूमिका लागि केही गर्न पनि प्रेरित ग¥यो । उनले ताङ्तिङ मेरो गाउँमा छोटाछोटा ३० वटा संस्मरणलाई गाउँको समग्रतासहित विदेश घुम्दाका अनुभवलाई उतारेका छन् । “म गाउँमा केही गर्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ, त्यसैले पहिलो कृतिका रुपमा ताङ्तिङ मेरो गाउँ ल्याएको छु”, उनले भने, “यसमा गाउँको शैक्षिक अभियान, जीवनशैली, सूचना र प्रविधिका कथा, पर्यटन, बाल्यावस्था सामाजिक प्रयास विद्यालयदेखि विश्वविद्यालयका कथा र यात्रा संस्मरणलगायतका अन्य कुरा उतार्ने प्रयास गरेको छु ।” ग्रामीण पर्यटनका प्रवद्र्धनका अभियानकर्मी एवं पत्रकार अमृत भाँदगाउँलेले पोखरादेखि २१ किलमोटिर उत्तरपूर्व अवस्थित सुन्दर गाउँ ताङ्तिङलाई चिनाउन गुरुङको किताबले महत्वपूर्ण भूमिका खेल्ने बताए । “ग्रामीण जीवनशैली र गुरुङ संस्कृति अध्ययनका लागि यो पुस्तक निकै उपयुक्त छ, मासिँदै गएका र विस्थापित हुँदै गएका ग्रामीण जीवनका धेरै यथार्थता यस पुस्तकमा समेटिएको छ ।” उनले भने । पुस्तकको समीक्षा गर्दै पत्रकार जमुना वर्षा शर्माले गुरुङ समाजको यथार्थतासहित त्यस क्षेत्रको भौगोलिक, सांस्कृतिक, आर्थिक र सामाजिक क्षेत्रका विभिन्न पक्षलाई उजागर गरेको बताए ।
मादी गाउँपालिकका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम)ले गाउँको चिनारी बोकेको पुस्तक प्रकाशन हुनु निकै गर्वको कुरा भएको बताए । उनले नागरिकमा लेखक गुरुङको जस्तो चेतना र ऊर्जा हुनसके गाउँविकासमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे । पुस्तकका बारेमा धारणा राख्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई ग्रामीण क्षेत्रका पर्यकीय गन्तव्य र त्यसका पहिचानलाई पुस्त कका माध्यमबाट चिनाउन सहज हुने बताए । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले ताङ्तिङ प्राकृतिक सुन्दरता रहनसहन संस्कृति लोभलाग्दो भएको उल्लेख गर्दै पुस्तकले यस क्षेत्रको महत्वलाई विस्तृतरुपमा उजागार गरेको बताए । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपाल गण्डकी प्रदेशले उक्त पुस्तक पोखरामा विमोचन गरेको थियो । भिटोफका अध्यक्ष नवराज अधिकारीले गाउँको जनजीवनलाई उजागर गर्दै पर्यटन प्रवद्र्धनमा गुरुङ लिखित पुस्तक ताङ्तिङ मेरो गाउँ निकै उपयोगी हुने बताए ।
पुस्तकबाट ‘ताङ्तिङ’ चिनाउँदै प्रधानाध्यापक गुरुङ
प्रतिकृया दिनुहोस्