Pokharapatra National Daily

टाइगरकप भलिबलको पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफले जित्यो उपाधि

टाईगर कप भलिबल प्रतियोगितामा शसस्त्र प्रहरी बलको एपिएफ र घरेलु टिम गण्डकी प्रदेशले दोश्रो पटक उपाधि जितेका छन् । महिला तर्फ गत बर्ष विजेता भएको एपिएफले यस बर्ष पनि उपाधि जित्दा पहिलो पटक उपाधि जितेको पुरुष तर्फको खेलमा गण्डकीले तेश्रो संस्करण आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
पोखरा रंगशालाको भलिवल प्रशिक्षण केन्द्रमा शनिबार भएको फाइनल खेलमा गण्डकीले एपिएफलाई ३—२ को सेटमा जित हासिल गरेको हो । गण्डकीले एपिएफ बिरुद्धको फाइनल खेलमा १६—२५, २५—१८, २५—१९, २८—२६ र अन्तिम सेटमा १५—८ ले पराजित गरेको हो । गण्डकी प्रदेशले पहिलो संस्करणको उपाधि जितेको थियो । टाइगर ग्र्रुप पोखराको आयोजनामा पोखरामा शनिबार सम्पन्न भएको महिला तर्फको फाइनल खेलमा एपिएफले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लवलाई २५–२०, २२–२५, २५–८ र २५–२२ को सेटमा पराजित गरेको हो । विजेता पुरुष तर्फ गण्डकी र महिला तर्फको एपिएफले उपाधि सहित ५ लाख रुपैयाँ साथमा ट्रफी मेडल प्रमाण—पत्र प्राप्त गरे । उपविजेता भएका पुरुष तर्फ एफिएफ र महिला तर्फको आर्मीले भने जनही २ लाख ५० हजार प्राप्त गरे । पुरुष तर्फ तेश्रो हुने नेपाल पुलिस र महिला तर्फ तेश्रो हुने न्यू डाइमण्ड एकेडेमीलाई नगद १ लाख २५ हजार प्रदान गरिएको छ । विजयी हुने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, टाईगर ग्र्रुपका अध्यक्ष नारायण शर्मा, कार्यक्रम संयोजक देवेन्द्र केसी लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा पुरुष तर्फ गण्डकीका रवि केसी र महिला तर्फ एफिएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भए । महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई जनही नगद २५–२५ हजार प्रदान गरिएको छ ।
महिला तर्फ उत्कृष्ट लिबेरो त्रिभुवन आर्मी क्लबकी सरस्वती जैसी, उत्कृष्ट स्पाईकरमा एपिएफकी निरुता ठगुन्न, उत्कृष्ट सर्भर गण्डकी प्रदेशकी अरुणा शाही, उत्कृष्ट ब्लकर त्रिभुवन आर्मीकी संगम महतो, उत्कष्ट सेटर न्यु डायमण्डकी प्रगति नाथ, उत्कृष्ट प्रशिक्षकमा सशस्त्र प्रहरीबल एपिएफका महेश चौधरी घोषित भए । त्यसै गरी पुरुष तर्फ उत्कृष्ट सेटर गण्डकी प्रदेशका दिवस आले, उत्कृष्ट लिबेरो सशस्त्रका विनोद चन्द, उत्कृष्ट सर्भर गण्डकीका घनश्याम चौधरी, उत्कृष्ट स्पाईकरमा सशस्त्र प्रहरी बलका टेकराज वस्थी, उत्कृष्ट ब्लकर गण्डकीका नितिन र उत्कृष्ट प्रशिक्षक गण्डकी प्रदेशका रमेश केसी घोषित भए । हरेक विधाका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई जनही नगद १०–१० हजारको साथमा ट्रफी वितरण गरिएको थियो । माघ ९ गते देखि सुरु भएको प्रतियोगितामा पुष तर्फ ५ र महिला तर्फ ४ टिमको सहभागिता रहेको सचिब डिबि नेपालीले बताए ।

प्रतिकृया दिनुहोस्