Pokharapatra National Daily

लोक संस्कृति राष्ट्रको धरोहर ः प्रदेश प्रमुख शेरचन

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले संस्कार, संस्कृति र लोकसंस्कृति राष्ट्रको धरोहर रहेको बताएका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले शनिबार पोखरामा आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोहमा उहाँले लोकसंस्कृतिले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने काम गरेकाले यसको जीवन्त विकास हुनु आवश्यक छ भने ।
‘नेपाली जनताको वास्तविक संस्कार र संस्कृति लोकदोहोरीले विश्वमा परिचित गराएको छ’, प्रदेश प्रमुख शेरचनले भने, ‘सबै समुदाय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात प्राचीन नेपाली लोकसंस्कृतिको संरक्षण गर्न सबै पक्ष लाग्नु आवश्यक छ ।’
कलाकारहरुले गीतसङ्गीतका माध्यमबाट जनता र देशले भोग्नु परेका समस्या समाधानमा ध्यानाकर्षण गराउँदै आएको उल्लेख गर्दै उहाँले वैदेशिक हस्तक्षेप रोक्ने र देशभक्तिपूर्ण गीतसङ्गीतमा जोड दिनुपर्ने भनाइ राखे । प्राज्ञ हरिदेवी कोइरालाले प्रतिष्ठानले कलाकारको मर्म, पीडा र व्यथामा मलम लगाउने काम गरेको बताउँदै कलाकारहरुले गीतको माध्यमबाट समाज रुपान्तरणको काममा ध्यान दिन आग्रह गरे । कार्यक्रममा प्रतिष्ठानले सञ्चालन गर्दै आएको ‘तीर्थ सागर स्मृति पत्रकारिता पुरस्कार–२०७७’ बाट नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ नगदसहित पुरस्कृत भए । यसैगरी नरबहादुर स्मृति कलाकार पुरस्कारबाट म्याग्दीका लोक गायिका धनकुमारी थापा सम्मानित भएका छन् । कार्यक्रममा गत वर्षको चर्चित लोकगीत ‘आँधी खोलामा के ल्याइदिऊँ कोसेली भिर्ने झोलामा’ बोलको गीतका गायिका सरस्वती लामिछाने, गण्डकी प्रदेश उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष सञ्जीवबहादुर कोइराला, सिर्जना विकास केन्द्रका अध्यक्ष इन्द्रप्रसाद पौडेल, प्रतिष्ठानअन्तर्गतका उत्कृष्ट जिल्ला शाखा, प्रतिष्ठानको राष्ट्रिय महाधिवेशनमा विभिन्न उपसमितिका संयोजक, स्नातकोत्तर उत्तीर्ण कलाकारलगायतलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्