Pokharapatra National Daily

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा आइतबार मात्रै प्रधानमन्त्रीमा नियुक्त नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई नेपालको ४४औँ प्रधानमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन उपप्रधानमन्त्री एवं मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । विशेष समारोहमा राष्ट्रपति भण्डारीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । यस्तै, राष्ट्रपति भण्डारीले मन्त्रीहरू ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई अब्दुल खानलाई पनि पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । उहाँहरूको कार्यभार पछि तोकिनेछ । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको उपस्थिति थियो । समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतको उपस्थिति थियो ।
समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, यहाँस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्