Pokharapatra National Daily

दाहाल प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आइतबार साँझ जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि प्रतिनिसभाका कूल एक सय ६९ जना सदस्यको समर्थनसहितको दाबी पेश गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले यही पुस ३ गते सात दिनको समयसीमा दिई प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।
त्यसको समयसीमा आइतबार साँझ ५ बजे सकिएको छ । सो समयसीमा अगावै नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदको समर्थन पेश गर्नुभएको थियो । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सोमबार अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार सोमबार नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह आयोजना गरिएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह सोमबारका लागि तय भएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका नवनियुक्त प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाको एक सय ६९ सांसदको समर्थन छ । सोमबार नै मन्त्रिपरिषद्का केही सदस्यले समेत पद तथा गोपनीयताको शपथ लिनसक्ने बताइएको छ ।
‘प्रचण्ड’ तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । नवनियुक्त प्रधानमन्त्री दाहाललाई नेकपा (एमाले)को ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको छ, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन स्वतन्त्र सांसदको समर्थन छ । उहाँ विसं २०६५ को साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । यस्तै, २०७३ साउन १९ गते दोस्रो पटक प्रधानमन्त्री बन्नुभएका उहाँ २०७४ जेठ २३ गतेसम्म कार्यकारी प्रमुखका रूपमा रहनुभएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकले अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो । उहाँ २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौँ–१० र रोल्पा–२ बाट निर्वाचित हुनुभएको थियो । २०७० मङ्सिरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा–५ बाट निर्वाचित हुनुभएको थियो । संविधानसभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं ५ बाट निर्वाचित प्रचण्ड २०७३ साउन १९ गते व्यवस्थापिका–संसद्मा तीनसय ६३ सदस्यको बहुमत प्राप्त गरी नेपाल सरकारको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । यस्तै, २०७४ मङ्सिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट अध्यक्ष प्रचण्डले ४८ हजार दुई सय ७६ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो ।
विसं २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि तत्कालीन नेकपामा फुट आयो । सर्वोच्च अदालतको आदेशपछि तत्कालीन पाँच दलीय गठबन्धनको तर्फबाट २०७८ असार २९ गते शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भयो । सो सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न ग¥यो ।

प्रतिकृया दिनुहोस्