Pokharapatra National Daily

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्रतिपोउवा संघको चासो

पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यप्रति चासो देखाएको छ ।
संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा शुक्रबार विमानस्थल निर्माण क्षेत्रमा पुगेको प्रतिनिधि मण्डलले निर्माण प्रगति, त्यसको अवस्थाबारे जानकारी लिएको महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिए । उनका अनुसार प्रतिनिधि मण्डललाई आयोजनाका वरिष्ठ अधिकृत इञ्जिनियर कृष्ण पौडेलले विमानस्थल निर्माणका विविध पक्षबारे जानकारी गराएका थिए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले विमानस्थल निर्माणको लागि पोखरा उद्योग वाणिज्य संघले २०३३ सालदेखि गरेको पहलदेखि रिले अनसनसम्मका प्रसंग स्मरण गर्दै विमानस्थल तोकिएकै मितिमा संचालन हुनुपर्नेमा जोड दिए ।
विमानस्थल तोकिएकै मितिमा संचालन भए त्यसले कोभिड–१९ ले थलिएको पर्यटन उद्योगसहित सम्पूर्ण निजी क्षेत्रलाई लाभपुग्ने उनको भनाई थियो । अध्यक्ष कोइरालाले विमानस्थल संचालन पछि निजी क्षेत्रले त्यसबाट समुचित लाभ लिने खालका कार्यक्रम बनाउन एवं सहकार्य गर्न पोखरा उद्योग वाणिज्य संघ सदैव तयार रहेको जनाउँदै आफैले लविङ गरेको विमानस्थल निर्माणमा भएको प्रगतिमा सन्तोष व्यक्त गरे । २०३२ सालमा ३१०६ रोपनी जग्गा अधिग्रहण भएसँगै पोखरा उद्योग वाणिज्य संघले विमानस्थल निर्माणको लागि पैरवी गर्दै आइरहेको छ । विभिन्न समयमा प्रधानमन्त्री, पर्यटनमन्त्री तथा अन्य सरोकारवाला निकायहरुसँग निरन्तर पैरवीमा रहेको संघले बाध्यभएर २०६८ सालमा रिले अनसनको नेतृत्व नै गरेको थियो । संघले अगुवाई गरेको सो रिले अनसनमा पोखराका सबैजसो संघ÷संस्था, नागरिक समाज तथा गण्डकी प्रदेशभित्रका उद्योग वाणिज्य संघहरुले ऐक्यवद्धता जनाएका थिए ।

प्रतिकृया दिनुहोस्