Pokharapatra National Daily

यती र बुद्ध एयरलायन्सको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो प्रदर्शन उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती र बुद्ध एयरलायन्सको पहिलो प्रदर्शन उडान सफलता पुर्वक सम्पन्न भएको छ ।
दुवै एयरलायन्स विहीवार पुरानो विमानस्थलबाट उडी नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा सम्म पुगी प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । सोही दिनको उडानमा पोखराका मेयर, पोखराका पर्यटन व्यवसायी, उद्योगी निजी क्षेत्रका प्रतिनिधि र पत्रकारहरु लगायतका उडानमा सहभागी भएका थिए । विमानस्थलमा आगामी पुस १७ अर्थात १ जनवरी २०२३ वाट आन्तरिक उडान गर्ने कार्यक्रम रहेको छ ।
विमानस्थल फेमिलिराइजेसनका लागि दुवै एयरलायन्सलाई पहिलो प्रदर्शन उडानको अनुमति दिएको पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए ।
दुबै एयरलायन्सले अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गका दुबैतर्फबाट उडान र अवतरण सफलता पूर्वक गरेका प्रमुख गौतमले भने । पहिलो प्रदर्शनमा दुवै विमान विमानस्थल माथि सफलतापूर्वक घुम्नाले गण्डकी प्रदेशमा खुशीको लहर छाएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले भने । प्रदर्शन उडानले आगमी दिनमा पर्यटन प्रर्वद्धनमा ठुलो सहयोग पुग्ने अध्यक्ष श्रेष्ठले विश्वास ब्यक्त गरे ।
नयाँ विमानस्थलमा जडान गरिएका सामग्री परीक्षण गर्न यसअघि नै ‘क्यालिब्रेसन फ्लाइट’ भइसकेको पर्यटन परिषदका महासचिव संजयकान्त सिग्देलले बताए । आजको उडानले सवै पर्यटन व्यवसायीले थप उर्जा थपेको महासचिव सिग्देलले भने । पर्यटन क्षेत्रमा आवद्ध पारस देवकोटाले जहाज चडेपछि आगामी दिनमा पर्यटन क्षेत्रलाई विकास गर्न अन्तर्राष्ट्रिय विमानस्थलले ठूलो सहयोग पुराउने वताए ।

प्रतिकृया दिनुहोस्