Pokharapatra National Daily

निष्ठाको राजनीति उदय भएको छः उपसभापति गुरुङ

स्याङ्जा, 18

निर्वाचन क्षेत्र २ मा मतदान भएको १० दिनपछि भएको मतगणना शनिवार राती सम्पन्न भएको छ । ७१ हजार १ सय ९१ मतदान भएको स्याङ्जा २ मा संघ र प्रदेशमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धनबाट नेपाली काँग्रेसका तिनैजना उम्मेदवार बिजयी भएका हुन् ।
प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति गुरुङ ५ हजार ६ सय २७ मतान्तरले नेकपा एमालेका उम्मेदवार केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गरी बिजयी भएका छन् । उपसभापति गुरुङ्ले ३१ हजार ४ सय ६६ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी सचिव अर्यालले २५ हजार ८ सय ३९ मत प्राप्त गरेकी थिइन् । पछिल्लो समय राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पाटीका टिकराज गुरुङ्ले ८ हजार १ सय १३ मत प्राप्त गरेका थिए । २०७४ को निर्वाचनमा नेपाली काँग्रेसका नेता तथा पुर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेर केन्द्रीय राजनीतिमा उदाएकी अर्याललाई २०७९ को आम निर्वाचनले ब्रेक लगाएको छ । त्यसैगरी गण्डकी प्रदेशसभा सदस्यमा दुवै जना नेपाली काँग्रेसबाट निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र २ प्रदेश (१) बाट भोजराज अर्याल र प्रदेश (२) मा महेश भट्टराई निर्वाचित भएका छन् । अर्यालले १५ हजार १ सय ६१ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका महोन रेग्मीले १२ हजार ४ सय ३१ मत प्राप्त गरेका थिए । त्यसै गरी प्रदेश २ मा भट्टराईले १८ हजार ७ सय ८८ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका बुद्धिमान श्रेष्ठले १७ हजार २ मत प्राप्त गरेका थिए । २०७४ को आम निर्वाचनमा एक प्रदेश र संघ जितेको नेकपा एमालेले अहिले दुवै क्षेत्र गुमाएको छ । नेपाली काँग्रेसले आफ्नो विरासत २०७९ को निर्वाचनबाट फर्काएको छ । प्रदेश (१) का उम्मेदवार रेग्मी २०७४ को निर्वाचनमा फराकिलो मतान्तरले बिजयी भएका थिए ।
पुन ः प्रदेश सदस्यमा उम्मेदवार बनेका रेग्मीलाई २०७९ को निर्वाचनले सांसद बन्न रोकिदिएको छ । प्रदेश (२) मा भने दुवै उम्मेदवार नयाँ अनुहारका भएपनि २०७४ को निर्वाचनमा नेपाली काँग्रेसका भागवत प्रकाश मल्ल निर्वाचित भएका थिए । यो प्रदेशको बिरासतलाई काँग्रेसले कायमै राख्न सफल भएको छ ।
निर्वाचत प्रतिनिधिसभा सांसद र प्रदेशसभा सांसदलाई आइतवार निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र दिएर बधाई तथा शुभकामना सम्पन्न गरेको छ । उक्त बधाई तथा शुभकामना कार्यक्रममा नव निर्वाचित प्रतिनिधिसभा सांसद धनराज गुरुङ्ले निष्ठाको राजनीतिको उदय भएको बताए । यो बिजयले देशलाई निष्ठाको राजनीतिमा लैजान सहयोग हुने विश्वास दिलाए । भष्ट्रचारको अन्त्य नभएसम्म मुलुकको विकास नहुने दावी गर्दै आएका उपसभापति गुरुङ्ले यो निर्वाचनमा भष्ट्रचारको बिषयलाइृ मुख्य मुद्धा बनाएर मतदाता बिच पुगेका थिए ।
गण्डकी प्रदेशसभा सांसदमा निर्वाचित अर्याल र भट्टराई प्रदेशका मतादाताको शिर उचो रहनेगी काम गर्ने विश्वास दिलाए । प्रदेशको विकासमा राजनीतिक विभेद नगरी साझा सांसद भएर काम गर्ने प्रतिवद्धता उनीहरुको थियो । स्याङ्जा निर्वाचन क्षेत्र १ मा नेपाली काँग्रेसका जिल्ला सभापति राजु थापा प्रतिनिधिसभामा निर्वाचित भएका छन् भने दुई प्रदेशमा नेकपा एमालेले बिजयी हासिल गरेको छ ।

प्रतिकृया दिनुहोस्