Pokharapatra National Daily

स्याङ्जामा मतगणना प्रक्रिया अनिश्चित

देशभरबाट मतगणनाको नतिजा आइरहेका बेला स्याङ्जा संघिय निर्वाचन क्षेत्र २ मा भने मतगणना प्रक्रिया अझै शुरु हुन सकेको छैन । दुई ठुला पाटी नेपाली काँग्रेस र नेकपा एमालेको मतगणनामा विवाद देखिएपछि मतगणना हुन नसकेको हो । नेकपा एमालेले बुथ कब्जा गरिएका मतदान केन्द्रमा पुन मतदानको माग गरेको छ भने सत्ता गठबन्धनले उत्साहपूर्वक मतदाताले मतदान गरेकोले मतगणनामा शुरु गर्नुपर्छ भन्ने अडानले मतगणनामा समस्या आएको छ ।
मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सामान्य घट्ना भएपनि शान्तिपूर्ण रुपले मतदान प्रक्रिया सकिएको छ । मतदान प्रक्रिया सगै मतपरिणामको प्रतिक्षामा स्याङ्जा क्षेत्र नम्वर २ का नागरिकहरु बसेका छन् । तर मतगणना हुन्छ या पुन मतदान हुन्छ भन्ने अन्योल कायमै छ । स्याङ्जा संघीय निर्वाचन क्षेत्र नम्वर २ को मतगणना प्रक्रिया शुरु गर्न भन्दै नेपाली काँग्रेस सहित गठबन्धनले निर्वाचन कार्यालयमा धर्ना दिएको छ भने नेकपा एमालेले केही मतदान केन्द्रमा नेपाली काँग्रेसले बुथ कब्जा गरी एकलौटी मत खसालेको आरोप लगाउदै पुन मतदानको माग राखेर आन्दोलनमा छ ।
२०७४ को निर्वाचनमा पनि मतगणनामा समस्या देखिएको यो क्षेत्रमा पुन २०७९ मा पनि समस्या देखिएको छ । सर्वदलिय बैठकमा सहमति जुट्न नसकेपछि अहिलेसम्म पनि निर्वाचन कार्यालयले मतगणना प्रक्रिया अगाडि बढाउन सकेको छैन । मतगणना प्रक्रिया अगाडि नबढाएपनि नेपाली काँग्रेस सहित गठबन्धनका दलहरुले मतगणना प्रक्रियालाई शुरु गर्न भन्दै निर्वाचन कार्यालय अगाडि बिहान ९ बजेदेखि धर्ना दिदै बसेको छ । पुन मतदान हुने काम भएमा नजिरका रुपमा बस्ने भन्दै प्रक्रियागत मतपेटीका आएकाले तुरुन्तै मतगणना शुरु गर्न नेपाली काँग्रेस सहित गठबन्धन दलले आग्रह गरेका छन् । नागरिकले उत्साहपुर्वक गरेको मतदानदानलाई हारको मानसिकता देखाएर मतगणनामा अवरुद्ध गर्न नहुने नेपाली काँग्रेसका कार्यबहाक सभापति केदार काफ्लेले बताए । पुन मतदानको हामीले कल्पना पनि गरेका छैनौ सभापति काफ्लेले भने, ‘निर्वाचनका क्रममा एमालेले बुथ कब्जा गर्न खोज्दा काँग्रेसका साथीहरु पनि घाईते भएका छन् ।’ त्यसैले विगतलाई समिक्षा गर्दै आगामी बाटोलाई राम्रो बनाउने लक्ष्यका साथ मतगणनामा ढिलाई गर्नुहुदैन उनले भने ।
नेकपा एमालेले भने चापाकोटमा बुथ कब्जा गरेका मतदान केन्द्रमा पुन मतदान नभएमा मतगणना हुन नदिने बताएको छ । जनताले मतदान गर्न पाउने अधिकारलाई सुनिश्चित गर्ने हाम्रो माग हो भन्दै पुन मतदानको हुनुपर्ने स्याङ्जा क्षेत्र नम्वर २ का प्रदेश (क) नेकपा एमालेका उम्मेदवार मोहोन रेग्मीले बताए । लोकतन्त्रमा सबैको अधिकार हुन्छ उनले भने,‘विधि र प्रक्रिया बिरुद्धको लडाई हो ।’ जबसम्म सो ठाँउका जनताले आफ्नो मताधिकारर प्रयोग गर्न पाउदैनन् मतगणना हुदैन उनले भने ।
नेकपा एमालेले चापाकोट नगरपालिका ३ स्थित दिसिङ्कोट आधारभुत विद्यालय, ४ को राममन्दिर मावि, ५ को जनसक्रिय मावि र दिनदयालु आधारभुत विद्यालयमा बुथ कब्जा गरेको आरोप लगाएको छ । गठबन्धनले नागरिकले संविधान बमोजिम आत्मनिर्णयको अधिकारलाई मतपेटीकामा व्यक्त गरेकाले यसको नतिजा बाहिर ल्याउनुपर्ने जनाएको छ । मतगणना हुन्छ या मतदान हुन्छ भन्ने बिषयमा निर्वाचन अधिकृत सगँ बुझ्ने प्रयासमा निर्वाचन अधिकृतले भेट्न चाहेनन् । तर यस बिषयमा निर्वाचन आयोगमा जानकारी पुगिसकेकाले निर्वाचन आयोगको पर्खाइमा रहेको स्याङ्जा क्षेत्र नम्वर २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए । यो क्षेत्रबाट गठबन्धबाट नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ र नेकपा एमाले केन्द्रीय सचिव पद्मा अर्याल सहित १२ जना प्रतिनिधिसभाका लागि प्रतिस्पर्धामा छन् । हेभीवेट नेताहरु भएकाले प्रतिस्पर्धा निकै कडा देखिएको छ । मतदानको प्रक्रियागत त्रुटि हो वा होइन भन्ने बिषयलाई निर्वाचन आयोगले ढिला नगरी नागरिकलाई छिटो सूचना दिनुपर्ने अवस्था देखिन्छ ।

प्रतिकृया दिनुहोस्