Pokharapatra National Daily

निर्वाचनले देशको भविष्य फैसला गर्छः अध्यक्ष ओली

स्याङ्जा, २१ कार्तिक

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनले देशको भविष्यको फैसला गर्ने बताएका छन् । देशलाई अग्रगमन वा पश्चगमनमा लैजाने विचारको निर्वाचनले फैसला गर्ने उनले बताए ।
‘देशलाई स्थिरता तर्फ लैजान सक्ने, देशको स्वाभिमान बचाई राख्ने, राष्ट्रियताका पक्षमा आँखामा आँखा जुधाएर सामाना गर्न सक्ने नेतृत्व नेकपा एमालेमा छ ।’ एमाले अध्यक्ष ओलीले आगामी निर्वाचनमा राष्ट्रियता बिरोधीलाई हराएर एमालेले बहुमत ल्याउने दाबी समेत गरे ।
कास्कीको पोखरा र बाग्लुङ्पछिको सोमबार स्याङ्जामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने ‘मंसीर ४ मा हुने निर्वाचन देशलाई उज्यालो तर्फ लाने की अध्यारोमा लाने, देशको भूमिको रक्षा गर्ने कि नगर्ने, यो देशको स्वाभिमान बचाउने की नबचाउने ? भन्ने सोचेर मात्र ठीक ठाउँमा मतदान गर्नुपर्छ ।’ बहुदलीय व्यवस्थामा निर्वाचन हुनु, जित हार हुुनु सामान्य प्रक्रिया रहेपनि यस पटकको निर्वाचनले देशलाई अँध्यारोतर्फ धकेल्ने की उज्यालो रोशनीमा देशलाई लैजाने भन्ने विषयमा मतदाताहरु गम्भीर भएर आफ्नो मत खसाल्नु पर्ने उनले बताए । देश बनाउने दृष्टिकोण नभएका, विचार, नीति, सिद्धान्त र कार्यक्रम नभएका जोसँग पनि मिलेर सरकार बनाउनेलाई मतदानद्धारा जवाफ दिन आग्रह गर्दै अध्यक्ष ओलीले घाँटी निमोठ्न सक्नेहरुबाट होसियार हुनुपर्ने भन्दै सुदृढ राष्ट्रियता निर्माण गर्न एमालेको नेतृत्वमा मात्रै संभव रहेको बताए ।
घुँडा टेकाउने सरकार बनाउने की र आँखा जुधाएर राष्ट्रियताका लागि सामाना गर्न सक्ने सरकार देशलाई चाहिन्छ भनेर सोचेर मत खसाल्न उनले मतदातालाई आग्रह गरे । एमालेसँग एक्लै प्रतिष्पर्धा गर्न नसकेर ५/५ दल गठबन्धन निर्माण गरेपनि प्रतिपक्षीहरुसँग अत्तालिएको उनले बताए ।
चुनावीसभामा एमाले केन्द्रीय सचिव एवं स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार पद्माकुमारी अर्यालले मंसिर ४ को निर्वाचनले देशलाई कता लैजाने भन्ने छिनोफानो गर्ने दिन भएको बताउनुभयो । एमाले सरकारमा हुँदा विकास निर्माणका काम तीव्र गतिमा अगाडि बढेकाले एमालेलाई जिताउनुपर्नेमा जोड दिनुभयो । स्याङ्जा क्षेत्र नं १ का उम्मेदवार नारायणप्रसाद मरासिनीले आगामी मंसिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभाबाट नेपाली जनताको भाग्य बदल्ने महायज्ञमा होमिएको बताउनुभयो । उहाँले जनतालाई सुखी र समृद्धिका लागि पनि अब एमालेको सरकार आवश्यक रहेको बताउनुभयो । क्षेत्र नं १ (१) का प्रदेश उम्मेदवार सीता सुन्दासले मङ्सिर ४ पछि केन्द्रीय सरकार र प्रदेश सरकार एमालेकै बन्ने दाबी गर्नुभयो । गाउँगाउँमा जाँदा त्यहाँका जनताले नेकपा एमालेको एकल बहुमतको सरकार बन्नुपर्छ एमालेको सरकारको विकल्प नरहेको उहाँको भनाइ थियो । स्याङ्जा क्षेत्र नं १ (२) का उम्मेदवार सुधीरकुमार पौडेलले ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा एमाले रहेको बताउँदै यस अभियानलाई पूरा गर्नका लागि फेरि एकपटक एमालेलाई केन्द्र र प्रदेशमा विजयी बनाउनुपर्नेमा जोड दिनुभयो ।
सभामा गण्डकी प्रदेशका लागि स्याङ्जा २ (१) का उम्मेदवार मोहनप्रसाद रेग्मीले गण्डकी प्रदेश सरकारले तत्कालीन समयमा बनाएका योजना गठबन्धन सरकार आएसँगै कटौती गरेको आरोप लगाउनुभयो । जनतालाई आर्थिक समृद्धिसँग जोड्न र मुहार परिवर्तन गर्नका लागि आफू लागिपरेको उहाँले बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका लागि स्याङ्जा क्षेत्र नं २ (२) का उम्मेदवार बुद्धिमान श्रेष्ठले कालीगण्डकी बेँसीका रुपमा सांस्कृतिक महत्व र सभ्यतासँग जोडिएको कालीगण्डकी नदीलाई डाईभर्सन गर्न नदिने बताउनुभयो । स्वास्थ्य, खानेपानी, सडक, शिक्षामा सर्वसाधारणको पहुँच स्थापना गर्नका लागि आफ्नो उम्मेदवारी रहेको दाबी गर्नुभयो ।

प्रतिकृया दिनुहोस्