Pokharapatra National Daily

महिला पर्यटन व्यवसायी मञ्चमा पार्वती पाण्डे

महिला पर्यटन व्यवसायी मञ्चक (ओटेफ) अध्यक्षमा पार्वती पाण्डे निर्विरोध चयन भएकी छन् ।
मञ्चको दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारण सभाबाट पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा
उमा रेग्मी भण्डारी, सचिवमा ममता न्यौपाने, सहसचिवमा शर्मिला न्यौपाने, कोषाध्यक्षमा लक्ष्मी लामिछाने र सहकोषाध्यक्षमा शारदा भुजेल चयन भएका छन् । मञ्चको सदस्यमा उमादेवी अधिकारी, मञ्जु सुवेदी, कान्ति अधिकारी, माया सुवेदी, रीता रेग्मी पौडेल, भावना रानाभाट र लालुमाया भण्डारी, मिठुदेवी लामिछने, सुशीला सिग्देल, सुन्ति पुर्जा र सुशीला भण्डारी चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष पार्वती पाण्डेले पोखराको पर्यटन प्रवद्र्धनमा विभिन्न क्षेत्रको सहकार्य र समन्वयमा महिला व्यवसायीको भूमिकालाई सशक्त गराएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन ।
अधिवेशनको उद्घाटन सत्रमा गण्डकी प्रदेश सभा सदस्य राजिव पहारीले पर्यटनमा विकासमा महिलाको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा योगदान रहेको चर्चा गरे । पछिल्लो समय संगठित भएर यस क्षेत्रको विकासमा लागेका व्यवसायी महिलालाई थप अवसर प्रदान गर्नु पर्ने उनको भनाइ थियो । अहिले कोभिड १९ का कारण पर्यटन क्षेत्रमा १९२ अर्ब प्रत्यक्ष लगानी र ५०० अर्ब निजी क्षेत्रकोे लगानी जोखिममा रहेको उल्लेख गर्दै अब नयाँ सोच र योजनाका साथ यस क्षेत्र अघि बढ्नु पर्ने धारणा राखे । पोखरा महानगरका उपप्रमुख मन्जुदेवी गुरुङ आर्थिक सशक्तिकरणले महिलालाई आत्मविश्वासी बनाउने उल्लेख गर्दै सामाजिक रुपान्तरणको लागि महिला आफ्नो भूमिकाको खोजी गरेर अघि बढ्नु पर्ने धारणा राखिन ।
पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन क्षेत्रको विकासमा सबैको साथ र सहयोगले सम्भव हुने बताए । उनले सरकारले व्यवसाय सञ्चालन कोर्ष भनेर ५० अर्ब छुट्टाएपनि व्यवसायीले उक्त सुविधा लिन नपाएको गुनासो गरे ।
आन्तरिक पर्यटन पुनरुत्थान समितिका संयोजक अग्नि कँडेलले सुस्ताएको पर्यटनलाई गति दिन आन्तरिक पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिएर अघि बढ्नु पर्ने बताए । सो अवसरमा समाचारको माध्यमबाट पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै राससकर्मी जमुना वर्षा शर्मालाई नगद दशहजार सहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।
त्यसैगरी संस्थागत विकासमा योगदान पुर्याएको भन्दै मञ्चका सल्लाहाकार देवका पहारी र पम्फा पहारीलाई पनि सम्मान गरिएको थियो । मञ्चका संस्थापक अध्यक्ष जमुना पराजुलीले पर्यटन व्यवसायमा क्रियाशिल महिलाहरु संगठित भएपछि उनीहरुको नेतृत्व तथा व्यत्तित्व विकासका मञ्चले विभिन्न कार्यक्रम गर्दै आएको बताइन । पर्दा पछाडी बसेर व्यवसायको बागडोर सम्हालेका महिलाले अहिले विभिन्न तालिम लिएर यस क्षेत्रको विकामा समेत भूमिका खेल्दै अघि बढेको उनको भनाइ थियो । मञ्चमा अहिले २ सय महिला पर्यटन व्यवसायीहरु रहेका छन् ।

प्रतिकृया दिनुहोस्