Pokharapatra National Daily

प्रविधिमैत्री सेवा दिन संघको आग्रह

वालिङ उद्योग वाणिज्य संघ वालिङ, स्याङ्जाले बुटवल पावर कम्पनीलाई विद्युत महशुल भुक्तानी गर्न अनलाईन वा बैकिङ् प्रणाली अवलम्वन गर्न अनुरोध गरेको छ ।
शुक्रवार वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शोभाकान्त पौडेलको नेतृत्वमा गएको एक टोलीले बुटवल पावर कम्पनी वालिङ शाखाका प्रमुख तुलसीराम अर्याललाई अनुरोध पत्र बुझाएर सो आग्रह गरेको हो ।
बुटवल पावर कम्पनीले अहिले सम्म पनि अनलाईन वा बैकिङ् माध्यमबाट भुक्तानी भन्दा पनि सोझै काउन्टरमा पुगेर महशुल भुक्तानी लिदै आएको छ । कोभिड १९ बाट उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दै वालिङ उद्योग वाणिज्य संघले आजको युगमा पनि अनलाईन माध्यमबाट सेवा प्रवाह नहुँदा सेवाग्राही मर्कामा परेको जनाएको छ ।
आम नागरिक, उद्योगी व्यवसायीको व्यस्तता र प्रविधिको विकास सगै वालिङका व्यवसायी र आम नागरिकले महशुष भुक्तानी गर्दा अनलाईन तथा बैकिङ् प्रणालीबाट गराउने व्यवस्थाको पहल गरिदिन आग्रह गरे अनुसार यो अनुरोधपत्र बुझाएको संघका अध्यक्ष पौडेलले बताए ।
वुटवल पावर कम्पनीलाई प्रविधिमैत्री संस्थाको रुपमा विकास गरेर छिटो भन्दा छिटो र लाईनमा बसेर रकम भुक्तानी गर्ने व्यवस्थाको अन्त्य गर्न आग्रह गरेको पौडेलले बताए । अहिलेको युग प्रविधिको युग हो अध्यक्ष पौडेलले भने,‘यो समयमा पनि प्रविधिको विकास नलागेर पुरानै शैली अपनाउनुले सेवाग्राही मैत्री सेवा भएन ।’ नीजि क्षेत्रको सफल कम्पनी भएरपनि प्रविधियुक्त प्राणालीको सेवा नहुनु दुखद पक्ष हो पौडेलले भने ।
स्याङ्जा र पाल्पा गरी ३८ हजार सेवाग्राहीलाई विद्युत सेवा प्रवाह गर्दै आएको बुटवल पावर कम्पनीले महशुल भुक्तानीमा उपभोक्तले झन्झट खेप्न बाध्य रहेका छन् । कोभिड १९ का बेला स्वास्थ्य मापदण्ड अपनाउन सरकारले गरेको आग्रहलाई समेत वास्ता नगरेर लाईनमा राखेर महशुल भुक्तानी लिइरहेपछि उपभोक्ताले वालिङ उद्योग वाणिज्य संघलाई गुहार्न पुगेका थिए । उपभोक्तको गुनासोलाई मध्यनजर राखेर सुझाव सहितको अनुरोध पत्र बुझाएको संघका महासचिव केशरबहादुर खाँण(ध्रुव) ले बताए । बुटवल पावर कम्पनी र वालिङ उद्योग वाणिज्य संघ विच विगत देखिनै छलफल र सहकार्य गर्दै अगाडी बढ्दै आएको खाँणले बताए ।
अनुरोध पत्र बुझ्दै कम्पनीका वालिङ शाखा प्रमुख तुलसीराम अर्यालले यो सुझाव अत्यन्तै सान्दर्भिक भएको बताए । अनलाईन मार्फत महशुल भुक्तानी गर्ने कम्पनीको पनि मनसाय रहेको भन्दै केही प्राविधिक समस्याले ढिला हुन गएको अर्यालले जानकारी दिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सगँ छलफल गरेर छिटो भन्दा छिटो उपभोक्तलाई अनलाईन मार्फत भुक्तानी हुने व्यवस्था मिलाउन पहल हुने अर्यालले बताए । संघका कोषाध्यक्ष सहित पदाधिकारी, पत्रकार, नागरिक समाज, उद्योगी व्यवसायीको उक्त अनुरोधपत्र बुझाउने क्रममा सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्