योगी एवं दूरदर्शी, सद्गुरुद्वारा माटो जोगाउनको लागि थालनी गरिएको १०० दिवसीय यात्रा लण्डनको प्रतिष्ठित ट्रफालगर स्क्वायरबाट प्रारम्भ भएको छ ।
तत्काल माटोको विनाश रोक्ने र अहिलेको स्थितिलाई उल्टाउने उद्देश्यसहित सद्गुरुले माटो जोगाउनको लागि जागरूक धरती अभियान आरम्भ गर्नुभएको छ । ३०,००० किलोमिटरको एकल मोटरसाइकल यात्रा गर्ने क्रममा, सद्गुरुले अर्को केही महिनामा युके, युरोप, मध्य–पूर्वका राष्ट्रहरू र भारत गरी २७ राष्ट्रहरू भ्रमण गर्नुहुने छ । यस अवधिमा उहाँले विश्वका नेताहरू, नेतृत्वकर्ताहरू, मिडिया साथै विश्वभरिका प्रमुख विज्ञहरूसँग अन्तर्क्रिरया गरी माटो जोगाउनको लागि तत्काल ठोस कार्य गर्नुपर्ने आवश्यकतामा जोड दिनुहुने छ । यूएनसिसिडी अर्थात् मरुभूमिकरण सामना गर्न गठित संयुक्त राष्ट्रसंघको सम्मलेनका अनुसार सन् २०५० सम्म पृथ्वीको ९०% माटो गुणस्तरहीन भई विश्वभरि खाद्य संकट, पानीको अभाव, खडेरी र भोकमरी, विषम जलवायु परिवर्तन, विशाल स्तरमा स्थानान्तरण र अकल्पनीय दरमा प्रजातिहरू सखाप हुने जस्ता विपत्तिहरू निम्तिने छन् । यतिखेर मानवजातिको लागि ‘माटोको विनाश’ सबैभन्दा गम्भीर खतरा हो, किनकि द्रुत गतिमा माटोको गुणस्तर घट्दै गएकोले धरतीले अन्न उब्जाउने क्षमता निकै खस्किएको छ ।
‘माटो जोगाऔँ’ अभियानले विभिन्न राष्ट्रहरूबाट नागरिक समर्थन जुटाउन र त्यसलाई प्रस्तुत गर्न खोजेको छ । साथै, यो अभियानले माटोलाई पुनः जीवन्त पार्न र माटोको विनाश रोक्नको लागि नीतिगत कार्यहरू शुरु गर्न विश्वभरिका सरकारहरूलाई सघाउने छ । यसको लागि, उक्त अभियानले ३.५ अर्ब मानिसहरूसम्म पुग्ने उद्देश्य लिएको छ । यो विश्वभरिका ६०% मतदाताहरूको संख्या हो । गत हप्ता, ६ वटा क्यारिबियन राष्ट्रहरूले माटो जोगाऔँ अभियानको लागि प्रतिबद्धता जनाउँदै, जागरूक धरतीसँग सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गरी ऐतिहासिक पाइला चालेका थिए ।
यस अभियानलाई विश्वभरिका प्रतिष्ठित व्यक्तिहरूद्वारा समर्थन गरिएको छ, जस्तै कि चर्चित पर्यावरण संरक्षण विद् डा. जेन गुडल, श्रद्धेय दलाई लामा अनि विश्व आर्थिक मञ्चका कार्यकारी अध्यक्ष क्लाउस श्वाब रहेका छन् । त्यसैगरी, मार्क बेनिअफ, दिपक चोपरा, टोनी रबिन्स, म्याठी हेडन, क्रिस गेयल, जुही चावला र सञ्जिव सन्याल लगायत थुप्रै ख्याति प्राप्त सेलिब्रिटी, कलाकार, खेलकुदकर्मी, प्रमुख व्यवसायी एवम् विविध क्षेत्रका विज्ञहरूले समेत यस अभियानलाई समर्थन गरेका छन् ।
माटो जोगाऔँ विश्वव्यापी अभियान हो, जसले हाम्रो माटो र धरती जोगाउनको लागि जागरूक दृष्टिकोणसहित काम गर्न प्रोत्साहन गर्दछ । सर्वप्रथम, यो हरेक नागरिकको अभियान हो । यस अभियानले विश्वभरिबाट ३.५ अर्ब मानिसहरू (विश्वभरिका ६०% मतदाताहरू) को समर्थन जुटाउने अनि माटोलाई पुनः जीवन्त पार्न र माटोको विनाश रोक्नको लागि नीतिगत कार्यहरू शुरु गर्न विश्वभरिका सरकारहरूलाई सघाउने उद्देश्य लिएको छ । विश्वका नेतृत्वकर्ताहरू, प्रभावशाली व्यक्तिहरू, कलाकारहरू, विज्ञहरू, किसानहरू, आध्यात्मिक गुरुहरू, गैर सरकारी संस्थाहरू अनि नागरिकहरूले अभियानको समर्थनमा आवाज उठाइरहेका छन्, ताकि मानवजाति र माटोबिच रहेको सम्बन्धलाई पुनः स्थापित गर्न सकियोस् ।
माटो जोगाउनको लागि सद्गुरुद्वारा लण्डनबाट १०० दिवसीय मोटरसाइकल यात्रा शुरु
प्रतिकृया दिनुहोस्