Pokharapatra National Daily

वालिङमा ‘डिजिटल प्रविधि’ बाट जग्गा नाप जाँच

स्याङ्जाको वालिङमा ‘डिजिटल प्रविधि’ बाट जग्गा नाप जाँच कार्य शुरुवात भएको छ ।
विशेष नापी कार्यालय पाल्पाको ७ नं. टोलीका चार जना प्राविधिकहरुद्वारा ‘डिजिटल प्रविधि’ बाट जग्गाको नापजाँच र साँध सँधियार छुट्टयाउने कामको शुरुवात गरिएको हो ।
‘डिजिटल प्रविधि’को प्रयोगले जग्गा नापी कार्य थप वैज्ञानिक, यथार्थ, तथ्यपरक र पारदर्शी हुने, ब्यक्तिका फरक–फरक रहेका टुक्राटुक्री जग्गाहरुको तथ्याङ्क एउटै पद्धतिमा रहने भएकाले पनि यो विधि प्रभावकारी हुने नापी टोलीका प्रमुख ज्योति शाहले बताईन् । ‘यसअघि फिता लिएर जग्गा जमीनमै पुग्नुपर्ने बाध्यता थियो, उक्त विधि प्रतिविवाद पनि देखिन्थ्यो’ टोली प्रमुख शाहले भनिन्, ‘डिजिटल प्रविधि’ को प्रयोगले साँध सँधियारहरुले हचुवाका भरमा देखाएको भरमा साँध लगाउने र चार किल्ला तोक्ने प्रवृत्तिको अन्त्य हुने छ ।’ जग्गा नापीका क्रममा पहिले देखिएका विवादहरु ‘डिजिटल प्रविधि’ को प्रयोगसँगै हराउँदै जाने विश्वास शाहले गरिन । वालिङ नगरपालिका १ बाट शुरु गरिएको नाप जाँच कार्यलाई जिल्लाका अन्यतहहरुमा पनि पु¥याईने बताईएको छ । जग्गामा नाप जाँचका क्रममा कहीँ कतै विवादहरु देखिएमा भूमि ब्यवस्था ऐन तथा नियम अनुसार निरुपण गर्दै अगाडि बढ्ने टोली प्रमुख शाहले सुनाईन् । ‘डिजिटल प्रविधि’ बाट जग्गा नाप जाँच गर्दा जग्गाको यथार्थ विवरण आउने विवादरहित हुने भएकाले यो विधि प्रभावकारी हुने वालिङ नगर प्रमुख दिलीप प्रताप खाँणले बताए । जमीनको वैज्ञानिक कर तथा सेवाग्राहीको आवश्यकता अनुसार अनलाईन प्रणालीबाट विवरणहरु लिन सकिने भएकाले पनि यो प्रविधिमैत्री र अहिलेको समयको माग अनुसार अगाडि बढेको उनलेबताए ।
‘विगतमा फिता लिएर जग्गा नापी गर्दा शतप्रतिशत प्रभावकारी हुन सक्दैनथ्यो, त्रुटिहरु हुनसक्थे’ नगर प्रमुख खाँणले भने, ‘ब्यक्तिगत तथा सार्वजनिक जग्गाहरुको यथार्थ स्थिति पत्ता लगाउन र विश्वसनियता तथा साँध सँधियारबीच विवाद रहित बनाउनका लागि यो विधि अझ बढी प्रभावकारी हुने देखिन्छ ।’ विशेष नापी टोलीले जग्गा नाप जाँचको क्रममा विवादहरु आईपरेमा सहजीकरण गर्ने नगर प्रमुख खाँणले बताए । ‘डिजिटल प्रविधि’मार्फत सेवा प्रबाह गर्दा सेवाग्राहीबीच हुने विवादहरु अन्त्य हुने नगर उप–प्रमुख कल्पना तिवारीले बताईन् । जग्गाको नाप जाँच पनि बैज्ञानिक हुने र जग्गाकै कारण समाजमा हुने ठूला तथा साना विवादहरु अन्त्य हुने तिवारीको जिकिर थियो ।

प्रतिकृया दिनुहोस्