Pokharapatra National Daily

नौ महिनापछि खुल्यो सिनेमा हल

पोखराको मिडटाउन सिनेमा खुलेको छ । मंगलबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा मिडटाउन खुलेको जानकारी गराइएको हो ।
कोरोना भाइरसका कारण विगत नौ महिनादेखि बन्द रहेको मिडटाउन सरकारको सामाजिक सुरक्षाका मापदण्डलाई अवलम्बन गर्दै खोलिएको मिडटाउनका प्रबन्ध निर्देशक निकेश द्वाले जानकारी गराए ।
हाललाई मिडटाउनमा पुरानै चलचित्रलाई प्रदर्शन गरिने उनले बताए । अहिले मिडटाउनमा चलचित्र ‘आमा’, ‘सेन्टिभाइरस’ र अंग्रेजी चलचित्र ‘इन्भिजिबल मेन’ प्रदर्शन गरिएको छ । दिउँसो १ बजे, अपरान्ह ३ः४५ बजे र साँझ ६ बजे फिल्म प्रदर्शन गर्नेगरी हल संचालनमा आएको द्वाले जानकारी गराए । सरकारले पीडा नसुनेको र बाध्य भएर आफूहरुले हल संचालनमा ल्याएको द्वाको भनाई छ । उनले भने, ‘बैंकबाट ऋण लिएर हल संचालन गरियो । आज पनि फोन आइरहेको छ । सरकारले हल संचालकहरुको हकमा केही सोच्दैन । अब बैंकको किस्ता ब्याज कसरी बुझाउने ?’ उनले मनोरञ्जनको क्षेत्रमा भएका लगानीको सुरक्षामा सरकार मुकदर्शक बनेको गुनासो पोखेका छन् । सरकारले फिल्म हल बन्द गर्ने आधार स्पष्ट नपारेपछि उनले आफूहरुले अनुमति बेगर नै हल संचालन गर्न बाध्य भएको जनाए ।
द्वाले रेष्टुरेण्ट, दोहोरी साँझ, क्लबहरु खुल्दा हल संचालन हुन नपाउनु दुर्भाग्य भएको बताएका छन् । मिडटाउन संचालन नहुँदा ४५ जना कामदारको रोजीरोटीमा असर पुगेको द्वाको भनाई छ । उनले मिडटाउन सिनेमाकै कारण वरिपरिका चिया पसल पनि चलेको र उनीहरुको समेत आम्दानीमा प्रभाव परिरहेको जानकारी गराए । अहिले मिडटाउनमा भौतिक दुरी कायम राख्दै एउटा सिट खाली राखेर ग्यापमा हल संचालन गरिएको छ । कर्मचारी र ग्राहकलाई पूर्ण सुरक्षाको वातावरणमा प्रत्याभुत हुने गरी काममा खटाइएको उनले बताए ।
रकम तिर्दा समेत अनलाइनका माध्यम व्यवस्थापन गरिएको र पैसा लिदादिँदा समेत सेनिटाइजरको व्यवस्थापन गरिएको द्वाले बताए । हल संचालन गरेको तीन महिना नाफा कमाउने भन्दा पनि फिल्म चलाउने वातावरण बनाउने उनले बताए । ५० प्रतिशत अकुपेन्सीमा आफूहरुले हल संचालन गरेको उनको भनाई थियो ।
द्वाले नयाँ फिल्म रिलिज हुन केही समय लाग्ने बताएका छन् । उनले महामारीका कारण पर्ख र हेरको अवस्थामा पुगेको बताए । अहिले निर्माता निर्देशक नै फिल्म रिलिज गर्न डराइरहेको भनाई उनको छ । हल संचालकले समेत सोचविचार गरेर फिल्म रिलिज गर्नुपर्ने अवस्थामा आफूहरु पुगेको द्वाले बताए । महामारीले सिनेक्षेत्रमा पुर्याएको असरको सामाना सबैले मिलेर गर्नुपर्ने उनको तर्क छ । द्वाले भने, ‘अब आत्तिएर केही हुनेवाला छैन । सरकारसँग अपेक्षा गर्ने बाटो पनि हरायो । अब हामी सबै मिलेर लगानी जोगाउनुपर्ने बेला आएको छ । डरलाई जित्दै विस्तारै लयमा फर्किनुपर्छ ।’

प्रतिकृया दिनुहोस्